मंगलबार, वैशाख ११, २०८१

आज विजयादशमी : मान्यजनको हातबाट टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

नेपालखोज २०७७ कार्तिक १० गते ५:३०

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी । घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज टीका ग्रहण गर्ने उक्तम साइत आज बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ। त्यस्तै भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ ९कात्तिक ९ गते० बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत रहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।

विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

प्रतिक्रिया