शुक्रबार, वैशाख १४, २०८१

कोभिड-१९ कै कारण विदेशी मुद्राको सञ्चिती बढ्यो

नेपालखोज २०७७ कार्तिक ११ गते १७:४५

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को महामारी कैं कारण नेपालमा विदेशी मुद्राको सञ्चिती बढेको छ । कोभिड-१९ का कारण आयात र निर्यात दुुबै प्रभावित हुुँदा यसको प्रत्यक्ष असर विदेशी मुद्राको सञ्चितीमा परेको हो ।

राष्ट्र बैंककाअनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुुई दशमलव तीन प्रतिशतले बढेर २०७७ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ खर्ब ५५ अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंक बाहेकको बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ भदौ मसान्तमा एक खर्ब ७८ अर्ब ६६ करोड पुगेको छ । २०७७ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव एक प्रतिशत रहेको छ ।

राष्ट्र बैककाअनुसार आर्थिक वर्ष २०७७/७८ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६ महिना पाँच दिनको वस्तु आयात र १४ महिना नौ दिनका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समिक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः ३८ दसमलव एक प्रतिशत, एक सय २४ दशमलव पाँच प्रतिशत र ३३ दशमलव छ प्रतिशत रहेका छन् ।

२०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७ दशमलव दुुई प्रतिशत, एक सय पाँच दशमलव सात प्रतिशत र ३३ दशमलव एक प्रतिशत रहेका थिए । अन्तर्राष्ट्रिय बजारमा २०७६ भदौ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६५.५९ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७७ भदौ मसान्तमा ३७ दशमलव एक प्रतिशतले घटी अमेरिकी डलर ४१.२३ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७६ भदौ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १५०२.१० रहेकोमा २०७७ भदौ मसान्तमा ३० दशमलव छ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९६१.८० पुगेको छ ।

राष्ट्र बैंककाअनुसार २०७७ असार मसान्तको तुलनामा २०७७ भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ दुुई दशमलव चार प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ चार दसमलव तीन प्रतिशतले अवमूल्यन भएको थियो । २०७७ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय १७ रुपैयाँ ५४ पैसा रहेको छ । २०७७ असार मसान्तमा उक्त विनिमय दर एक सय २० रुपैयाँ ३७ पैसा रहेको थियो ।

प्रतिक्रिया