बिहीबार, वैशाख १३, २०८१

सडक विस्तारका लागि गोंगबुको आकाशेपुल भत्काइदै

नेपालखोज २०७७ कार्तिक १४ गते १३:५४

काठमाडौं । सडक विस्तारका लागि गोंगबुको आकाशे पुल भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डका अवरोध हटाउन बनेको नयाँ कार्यतालिका अनुरुप यो पुल भत्काइएको सडक विभागले जनाएको छ ।

कलंकी पुल यसअघि नै भत्काएर अन्डरपास बनाइसकिएको छ भने करिब २७ दशमलव २ किलोमिटर लम्बाइको चक्रपथ सडक चीनको सहयोगमा ८ लेनमा विस्तार हुने भएको छ ।

१३ करोड खर्च भएको कलंकीको पुल पाँच वर्षमै भत्किएको थियो । त्यसैगरी साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल पनि ८ वर्षमै भत्किदै छ ।

यो आकाशे पुल सचिवस्तरीय निर्णयबाट निर्माण भएका थियो । काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारी मोडेलमा दुवै पुल निर्माण गर्न इनोभेटिभ प्रालीलाई जिम्मा दिएको थियो । इनोभेटिभले १८ वर्ष सञ्चालन गर्न पाउने महानगरको निर्णयअनुसार दुवै पुल निर्माण गरेको थियो । यो कम्पनी पुरानो बसपार्कमा काठमाडौं टावर बनाउने जिम्मा लिएर अलपत्र पारेका मनाज भेटवालको कम्पनी हो ।

दुवै आकाशेपुल निर्माणबाट लागतसमेत उठ्न नसकेको इनोभेटिभको दावी छ । गुरुयोजना अभावमा काठमाडौंका सडकमा निर्मित संरचना केही वर्ष नबित्दै भत्काउनु पर्ने स्थिति देखिने गरेको पूर्वाधार विज्ञहरु बताउँछन् । काठमाडौंको सडक तथा सार्वजनिक यातायातको एकीकृत गुरुयोजना नबन्दा करोडौंमा बनेका संरचना भत्काउनुपर्ने अवस्था विगतदेखि नै चल्दै आएको विज्ञहरु बताउछन् ।

प्रतिक्रिया