शनिबार, वैशाख ८, २०८१

सुक्खा बन्दरगाह चाँडै निर्माण हुन्छ : मन्त्री भट्ट

नेपालखोज २०७७ कार्तिक १४ गते १९:४७

कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढाइने बताएका छन् ।

शुक्रबार गोदावरी नगरपालिका–१ स्थित निवासमा प्रेस सङ्गठन नेपालसँग आवद्ध पत्रकारसँगको कुराकानीमा उनले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई चाँडै अगाडि बढाउने बताएका छन् ।

सुक्खा बन्दगाहका लागि मन्त्रालयको प्राविधिक टोलीले यही कात्तिक १६ गतेदेखि काम शुरु गर्ने जनाउँदै उनले दैजीमा औद्योगिक क्षेत्र शिलान्यासको तयारी भइरहेको बताए ।

मन्त्री भट्टले कैलालीको हरैयामा बिषेश आर्थिक क्षेत्र, गोदावरी नदीको पश्चिम क्षेत्रमा औद्योगिक करिडोर र लम्की चुहा नगरपालिकाको डुडेझारीमा औद्योगिक क्षेत्र निर्माणको तयारीका लागि पनि अध्ययन शुरु गरिएको जानकारी दिए ।

बैतडीमा फलाम खानी, दिपायल–खुटिया मार्ग, कैलालीको चौकीडाँडा–फल्टुडे पक्की सडक निर्माणको कार्य अघि बढाइने उनको भनाइ छ । मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई सुदुरपश्चिमको पहिलो मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने पनि बताए ।

प्रतिक्रिया