शुक्रबार, वैशाख ७, २०८१

चितवनमा १३ जिल्लाका ११६ सङ्क्रमितको मृत्यु

नेपालखोज २०७७ कार्तिक १८ गते १०:१४

चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् ।

जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन गर्दै आएको नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार गणले १०७ शवको व्यस्थापन आफैँले गरेको छ । बाँकी सम्बन्धित जिल्लामा समन्वय गरी अन्त्येष्टिका लागि लगिएको हो ।

गणका अनुसार मृत्यु भएकाहरुमा चितवनबाहेक सबैभन्दा बढी नवलपरासी (त्रिवेणी सुस्तापूर्व) का रहेका छन् । सो जिल्लाका १८ जनाको चितवनका अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी मकवानपुरका १२, रौतहटका चार, सर्लाहीका चार, तनहुँका तीन, गोरखाका चार, कैलालीका दुई, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक÷एक जनाको यहाँका विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

जिल्लामा हालसम्म पाँच हजार ९२३ सङ्क्रमित भएका छन् । तीमध्ये ६४ जनाको मृत्यु भएको हो । मृत्युदरको हिसाबले १.०८ प्रतिशत हुन आउँछ । देशभरको तथ्याङ्कलाई हेर्दा मृत्युदर ०.५५ प्रतिशत मात्रै रहेको छ । देशभरको कुल सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या ९८४ रहेको छ । तीमध्ये ११६ जनाको चितवनमा मृत्यु भएको हो । नेपालमा मृत्यु भएकाहरुको हिसाबले चितवनमा मृत्यु भएकाहरुको प्रतिशत १२.०८ हुन आउँछ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले चितवनले आफ्नो जिल्लाको मात्रै नभएर छिमेकी जिल्लाका सङक्रमितको उपचार र शव व्यवस्थापन गरेको हुँदा कुल मृत्यु सङ्ख्या बढी हुन आएको बताए । यहाँको सङ्घीय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत सङ्क्रमितको उपचार गर्दै आएका छन् । सबैको साथ र सहयोगकै कारण जिल्लामा ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमितको व्यवस्थित उपचार र मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सहज भएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले सङ्क्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताए । पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उनको भनाइ छ ।

जिल्लाका अस्पतालहरुले ठूलो सङ्ख्यामा सङ्क्रमितको सफल उपचार गरी निको पार्न सफल भएको तिवारी बताउनुहुन्छ । कोरोना रोग नियन्त्रण र उपचारमा यहाँका सरोकारवाला निकायहरुको बीचमा भएको समन्वयका कारण सहज बनेको तिवारीको भनाइ छ ।

प्रतिक्रिया