कात्तिक मसान्तसम्म ब्रोकर कमिसन घटाउन निर्णय नभए हडतालमा जाने लगानीकर्ताहरुको चेतावनी

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले ब्रोकरहरुले लिँदै आएको कमिसन घटाउन माग गरेका छन् । सेयर कारोबार अनलाइनमा गएपछि ब्रोकरहरुको काम घटेको र लगानीकर्ताहरु स्वयम् आफैंले सेयर खरिद(बिक्रीको काम गर्दै आएकाले स्टक ब्रोकरले लिँदै आएको कमिसन घटाउन लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डलाई अपिल गरेका छन् ।
लगानीकर्ताको छाता संगठन नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकर कमिसन घटाउन माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई आग्रह गरिएको बताए । कात्तिक मसान्तसम्ममा स्टक ब्रोकर कमिसन घटाउन तीन संगठनका प्रतिनिधिसहित सेबोन पुगेको उनले बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले ब्रोकर र लगानीकर्ता दुवै पक्षबीच छलफल आयोजना गरेपछि मात्र यस विषयको टुंगो लाग्ने बताए । उनका अनुसार, ब्रोकर कमिसन घट्न तत्कालै नभएर थप केही समय लाग्न सक्नेछ । सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रियामा सहभागिता जनाउन कोभिड(१९ को उच्च जोखिम रहेकाले पनि ब्रोकर कमिसन घटाउने विषयमा निर्णय पुग्न समेत समय लागेको उनको भनाइ छ । उनले भने, सरोकारवाला पक्षसँग छलफल गरेरै सबैलाई चित्तबुझ्दो ढंगले दीर्घकालीन निर्णय लिनेछौं ।
सेबोनका सहप्रवक्ता रुपेश केसीले ब्रोकर कमिसन पुनरावलोकन गर्न बोर्डमा कमिटि बनेको बताएका छन् । उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको प्रतिनिधित्वमा बनेको उक्त कमिटिले ब्रोकर कमिसन घटाउने प्रतिवेदन बोर्डसमक्ष पेश गरिसकेको उनी बताउँछन् । अब, छलफलपछि केही समयमा यस बारेमा टुंगो लाग्ने उनले भने ।
धितोपत्र लगानीकर्ताहरुको तीनवटा संघसंगठनका प्रतिनिधि मिलेर सेबोनलाई ब्रोकर कमिसन लगायतका विभिन्न तीनबुँदे मागपत्र पेश गरेका हुन् । धितोपत्रको दोस्रो बजार हाल पूर्ण अनलाइन प्रविधिमा गइसकेकाले आम लगानीकर्ताहरुले तिर्नुपर्ने ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम हुनुपर्ने माग उनीहरुले सेबोनसमक्ष राखेका छन् ।
रौनियार भन्छन्, किन्दा पनि बेच्दा पनि लाग्ने दोहोरो करले लगानीकर्ताहरु मर्कामा परेका छन् । सेबोनको कमिसन ठिकै रहेपनि ब्रोकर र नेप्से र सिडिएसको एकदम बढी छ । सेयर कारोबारको कमिसन जग्गा किनेको भन्दा पनि महँगो भएको उनको आरोप छ । बोर्डका अध्यक्ष ढुगांनाले समेत ब्रोकर कमिसन महँगो भयो भनेकाले यसमा पुनरावलोकन हुने आशा राखेको उनी बर्ताउँछन् । ब्रोकरहरु भने अहिलेसम्म कमिशन नघटाउने पक्षमा देखिएका छन् ।
तर, अनलाइन कारोबारले ब्रोकरको राफसाफको काम घटिसकेको छ भने ९० प्रतिशत लगानीकर्ताहरु आफैं सेयर खरीद बिक्री गर्न सक्ने भइसकेका छन् । सेयर ट्रान्सफर गर्ने इडिआइएस समेत लगानीकर्ता आफैंले गर्ने भइसकेका छन् । यसरी ब्रोकरले गर्दै आएका थुप्रै काम घटेकाले कमिसन पनि घटाउन पर्ने लगानीकर्ताका संगठनहरुको माग छ । कात्तिक मसान्तसम्म ब्रोकर कमिसन घटेन भने हडतालमा जाने समेत चेतावनी उनीहरुले दिएका छन् ।
लगानीकर्ता अम्बिका प्रसाद पौड्याल पनि ब्रोकर कमिसन घटाउन आवश्यक रहेको बताउँछन् । उनी भन्छन्हि, जोको दिनमा कम भोलुममा कारोबार भएकाले धेरै ब्रोकरहरुको घाटामा पनि थिए होला । तर अहिले भोलुम बढेसँगै कारोबार रकम पनि बढेको छ । अब भने ब्रोकरले कति कमाएको छ र लगानीकर्ताले कति तिरेका छन् भनेर हेर्नपर्ने समय आएको छ । प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या बढेसँगै ब्रोकरहरुको कमाई पनि बढेको र अर्कोतर्फ अनलाइन प्रणालीले धेरै काम भने घटेकाले ब्रोकर कमिसन घटाउन आवश्यक रहेको उनको भनाइ छ ।
यता, ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले बोर्डलाई ब्रोकर कमिसन घटाउनुअघि आफुहरुसँग पनि छलफल गरेर मात्र निर्णय गर्न आग्रह गरेको बताए । सबै पक्षसँग छलफल नगरी पुनरावलोकन नगर्न र ब्रोकर कमिसन साँचिच्कै महँगो भएको हो वा होइन भन्ने विषयमा अध्यनन गरेर मात्र घटाउने निर्णय गर्न बोर्डलाई भनेको उनी बताउँछन् । भोलि लगानीकर्ता र ब्रोकरबाट विरोध आएर गरेको निर्णय फिर्ता गर्नुपर्ने अवस्था नआउने गरी निर्णय लिन बोर्डलाई सुझाएका छौं, उनले भने । हाल लगानीकर्ताहरुले कारोबार गरेको रकमको आधारमा फरक फरक ब्रोकर कमिसन तिर्दे आएका छन् । यस्तो छ कारोबार रकम र कमिसन (प्रतिशतमा):
कारोबार रकम | कमिसन (प्रतिशतमा) |
५० हजारभन्दा कम | ०.६० |
५० हजारदेखि ५ लाखसम्म | ०.५५ |
५ लाखदेखि २० लाखसम्म | ०.५० |
२० लाखदेखि १ करोडसम्म | ०.४५ |
१ करोडमाथि | ०.४० |
प्रतिक्रिया