बिहीबार, वैशाख १३, २०८१

संरचना नहुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या

नेपालखोज २०७७ कार्तिक २२ गते २१:१०

पाँचथर । संरचना नहुँदा जिल्ला कारागारमा ल्याइने नयाँ कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । कोभिड–१९ सङ्क्रमण परीक्षण नगरी नयाँ कैदीबन्दीलाई अन्यसँग राख्न नमिल्ने भएपछि अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीलाई छुट्टै राख्न आवश्यक पर्ने संरचना प¥र्याप्त नहुँदा कारागार प्रशासनलाई समस्या परेको हो ।

कारागारभित्र सङ्क्रमण फैलनसक्ने खतरालाई दृष्टिगत गर्दै कारागार चलान भएका सबै नयाँ कैदीबन्दीलाई कम्तिमा दुई साता अन्य कैदीबन्दीभन्दा अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीका लागि आवास, खाना, सरसफाइलगायत दैनिक क्रियाकलापका लागि अलग्गै व्यवस्थापनमा आर्थिक र भौतिक संरचना अभाव रहेको जिल्ला कारागार कार्यालयका प्रमुख (जेलर) सुरेन्द्रबहादुर मुखियाको भनाइ छ ।

नयाँ आउने कैदीबन्दीलाई क्वारेन्टिनका रुपमा कारागार प्रशासनसँगै कोठा व्यवस्थापन गरी राख्ने गरिएको छ । संरचना अभाव भएपछि कारागार प्रशासनले प्रशासनिक कक्ष, भण्डार, सुरक्षाकर्मी बस्ने कोठालगायतलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने तथा कर्मचारी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सामग्रीहरुको आलोपालो प्रयोग भइरहेको जेलर मुखियाले बताए ।

हालसम्म विभिन्न मुद्धामा कारागार चलान भएका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ । कारागार प्रशासनको सतर्कताका कारण उनीहरु सबै अन्य कैदीबन्दीको सम्पर्कमा पुगेका भने थिएनन् । हप्तामा एक÷दुई जना कैदीबन्दी भित्र, बाहिर भइरहने हुँदा ब्यवस्थापनमा चुनौति थपिएको हो ।

स्वास्थ्य परीक्षणमा समस्या
यहाँ कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण गर्ने एक स्वास्थ्यकर्मीको दरबन्दी गत वर्षदेखि रिक्त छ । स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याको परीक्षणका लागि पनि दैनिकजसो अस्पताल धाउनुपर्ने सुरक्षाकर्मीको बाध्यता छ ।

जीर्ण कारागारमा छ गुणा बढी कैदीबन्दी हुँदा झनै समस्या
जीर्ण अवस्थामा पुगेको कारागारमा झण्डै छ गुणा बढी कैदीबन्दी रहेका छन् । यो कारागार २० पुरुष र पाँच महिला गरी २५ जना क्षमताको हो । अहिले यहाँ १२८ पुरुष र १५ महिला गरी १४३ जना कैदीबन्दी रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आलोपालो सुत्नुपर्ने, शौचालय जान लाम लाग्नुपर्ने, खाना बनाउने तथा खाने ठाउँ नहुने जस्ता समस्या रहेको जेलर मुखियाको भनाइ छ । जीर्ण अवस्थाको भवन भएपनि केही संरचना थप्दै लगिएको उनले बताए ।

प्रतिक्रिया