शुक्रबार, चैत १६, २०८०

कोरोना रोकथामबारे बुझ्न मन्त्रालयको टोली भक्तपुरमा

नेपालखोज २०७७ कार्तिक २५ गते १९:४३

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा भक्तपुर नगरपालिकाले गरेका क्रियाकलापको बारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी लिएको छ ।

स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. वासुदेव पाण्डे नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका पुगेर नगरप्रमुख सुनील प्रजापतिलगायतसँग छलफल गरेको हो । सो अवसरमा प्रमुख प्रजापतिले स्रोत र साधनको अभावबीच पनि जनप्रतिनिधि आ—आफ्नो क्षमताअनुसार कोरोनाबाट समाजलाई जोगाउन सक्रियतापूर्वक लागिरहेको बताए ।

नगरपालिकाले नेपाल सरकारको कार्यविधिअनुसार प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) गठन गरी कोरोना नियन्त्रण तथा रोकथाममा क्रियाशील भई गरिरहेको प्रमुख प्रजापतिले जानकारी दिए । डा. पाण्डेले कोभिड नियन्त्रणमा भक्तपुर नगरपालिकाले गरिरहेको कार्य अनुकरणीय भएको जनाउँदै संक्रमितहरूको पहिचान हुन नसक्दा संक्रमणको खतरा झन् बढ्दै गइरहेको बताए ।

नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र प्रमुख डा. रत्नसुन्दर लासिवाले कोरोना बीमाले जनतामाझ अन्योल सिर्जना भएकाले स्पष्ट सन्देश दिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया