बीस वर्षपछि बन्यो प्रहरीको आफ्नै भवन

नेपालखोज २०७७ कार्तिक २६ गते १३:१९

त्रिशूली । सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी एकाइको पुनःनिर्माणअन्तर्गत बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ । तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा बम प्रहारबाट क्षति पुगेको २० वर्षपछि आफ्नै भवन बनेको छ । नयाँ भवनको मङ्गलबार वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्दै प्रदेश मातहतका प्रहरी युनिटमा पर्याप्त दरबन्दी, आवश्यक भौतिक संरचना र समयसान्दर्भिक तालिमको प्रबन्धमा कुनै कमी हुन नदिने बताए ।

वाग्मती प्रहरी प्रमुख वसन्तकुमार लामाले सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण अन्तिम चरणमा पुगेको र प्रदेशभित्रका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरिएको बताए । वाग्मती प्रदेशमार्फत प्राप्त रु १ करोड ८७ लाख लगानीमा निर्माण गरिएको प्रहरी चौकी महिलामैत्री, अपाङ्तामैत्रीसहितको कार्यालय र ब्यारेक भवन रहेको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) तुलबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार भवनमा प्रहरी युनिटको लागि आवश्यक कार्यकक्षसहित बहुविपद् प्रतिरोधी भवनमा विभिन्न नौवटा कोठा रहेका छन् ।

प्रतिक्रिया