मंगलबार, पुष १, २०८२

महासंघको चुनावमा किशाेर प्रधानको समुहलाई सघाउने सुदुरपश्चिमका अध्यक्षहरुको प्रतिवद्धता

नेपालखोज २०७७ कार्तिक २७ गते १७:२७

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्नका लागि आगामी मंसिर दोस्रो साता हुने निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले देशव्यापी भ्रमणलाई तिब्र पारेका छन् । यस क्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्षहरु पशुपति मुरारका, जिल्ला नगरतर्फका उपाध्यक्षका प्रत्यासी दिनेश श्रेष्ठ लगायतसँग प्रधानले सुदुरपश्चिम प्रदेशको जिल्ला नगर संघका मतदातासँग भेटघाट गरेका हुुन् ।

आफ्ना उम्मेदवार तथा पुर्व अध्यक्षहरुसहित सुदुरपश्चिम पुगेका किशोर प्रधानलाई सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्ला संघले सर्वसम्वत् विजयी गराउने प्रतिवद्धता जनाएका छन् । महासंघमा किशोर प्रधान र दिनेश श्रेष्ठको धेरै लामो अनुभव भएकाले जिल्ला नगरको भावना बुझ्न सक्ने क्षमता भएका व्यक्तिलाई सर्वसम्वत् निर्वाचित गरिनुपर्ने सुदुर पश्चिमका जिल्ला नगरका प्रतिनिधिहरुले बताएका छन् ।

बुधवार महेन्द्रनगरमा भएको मतदातासँगको भेटघाट कार्यक्रममा उपस्थित जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले प्रधानलाई एकजुट भएरै निर्वाचित गराउने प्रतिवद्धता जनाएका हुन् । भावी अध्यक्षले समर्थन गरेको समुहलाई मत दिएको खण्डमा महासंघको नयाँ कार्यसमिति बलियो हुने जिल्ला नगरका अध्यक्षहरुको भनाई छ । भावी अध्यक्षले समर्थन नगरेको समुह महासंघमा आउँदा कार्यसमिति कमजोर हुने भन्दै उनीहरुले प्रधानको समुहलाई मात्र नभई गोल्छालाई सघाउने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नर बहादुर चन्द, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देव बहादुर रोकाया, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगल सिंह थगुना, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प बहादुर कुवँर र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लको सहभागिता रहेको थियो ।

डोटी र अछाम उद्योग वाणिज्य संघका अध्यक्ष भने कोभिड संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । उनीहरुले भर्चुअल माध्यमबाट किशोर प्रधानलाई एक ढिक्का भएर समर्थन गर्ने प्रतिबधता जनाएका छन् ।

आफ्ना मतदाताहरुसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले महासंघको शाख जोगाउन र जिल्ला नगरका वास्तविक समस्याको पहिचान गर्दै समाधान गर्न जिल्ला नगरतर्फका व्यक्ति महासंघको नेतृत्वमा पुग्नुपर्ने बताए । उनले निर्वाचन भिडले नभई भोटले जितिने सन्देश प्रवाह गर्दै महासंघलाई नयाँ उचाई दिने व्यक्तिलाई मतदान गर्न आग्रह गरेका थिए । आफू भिड जम्मा गर्न नभई भोट जम्मा गर्न अभियानमा लागेको भन्दै भोटको उचित सदुपयोग गर्न पनि उनले मतदाताहरुसँग आग्रह गरेका छन् ।

अनुभवले नतिजा देखाउन सकिने भन्दै महासंघको शाख अझै उकास्न बलियो र सबल कार्यसमिति चयन गराउनु पर्ने प्रधानको भनाई थियो । महासंघका भावी अध्यक्ष गोल्छा सहितको आफ्नो समुहले मात्र महासंघलाई नयाँ उचाईमा पुर्याउने प्रधानले बताए ।

कार्यक्रममा महासंघका भावी अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा धेरै काम गर्ने योजना बनाएको र त्यसका लागि प्रधानको समुह आवश्यक रहेको बताएका थिए । गोल्छाले आफुलाई अनुभवी मान्छेसँग काम गर्ने चाहना भएकाले प्रधानको समुहलाई नेतृत्वमा ल्याउने वाताबरण बनाइदिन मतदातासँग आग्रह गरेका थिए ।

प्रधानले जनकपुरबाट सुरु गरेको मतदाता भेटघाट कार्यक्रम मध्य नेपाल हुँदै सुदुरपश्चिम पुगेको हो । जिल्ला नगरका प्रतिनिधिहरुसँगको भेटघाट अभियान अझै जारी रहेको प्रधानले जानकारी दिए ।

प्रतिक्रिया