शुक्रबार, वैशाख ७, २०८१

धान मासेर लगाएको किवी खेतीले मालामाल

नेपालखोज २०७७ कार्तिक २८ गते १३:०८

बलेवा । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाले धान खेति मासेर किवीको खेति गरेपछि राम्रो आम्दानी भएको छ । उनले पहिले स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाईं, गोडाई र उठाउने बेला लाग्ने खेतालाको खर्च समेत धान र परालले उठाउँन हम्मेहम्मे परेको उनी बताउँछन् । उनले २ दिन लगाएर ५ रोपनी जमीन जोतेर परम्परागत खेती गर्दै आएका थिए । तर पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किवी खेती गर्न थालेपछि भने मनग्गे आमदानी गरेको बताउँछन् ।

वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किवीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किवी लगाउँभन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम बिक्री बिक्री गरेर पैसा लिन थालेपछि खुशीले गद्गद भएका छन् ।

पैंयुपाटामा महेन्द्रले ३ वर्ष पहिले करिब रु ५ लाख खर्चेर ८० बिरुवा भाले-पोथी लगाएका थिए । उनले बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ गरेको नाम दिएका कम्पनी छन् । “अहिले झण्डै ५ क्विन्टल फलेको छ”, महेन्द्र भन्छन्, “६०/६२ बिरुवा मात्रै फल्दा त एकै बर्षमा लगानी उठ्ने देखियो ।” खेतबाटै प्रति किलो ४०० रुपैयाँमा बिक्री भएको भोलानाथ बताउँछन् ।

माटो अनुसारको खेती गर्न नजान्दा खर्च अन्सारको आम्दानी गर्न नसकेको महसुस भोलानाथले गर्न थालेका छन् । “कस्तो राम्रो फलेको, बजार उचित भए त आम्दानी गर्न बिदेश जानु पर्दैन”, उनी भन्छन् । उनको किवी खेतीकालागि कृषि ज्ञान केन्द्र पर्वतले २ लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । किवीसँगै रिजालले अदुवा, प्याज, लसुन, खुर्सानी, बेसार लगायतका अन्य नगदेबाली समेत लगाएका छन् । झ्याल प्रजातीको किवीको रुखमुखी लगाएको नगदे बालीहरुले समेत घर खर्च चलाउने आम्दानी दिने गरेको रिजालले बताए ।

प्रतिक्रिया