आइतबार, वैशाख १६, २०८१

राष्ट्रिय सहकारी बैंकद्वारा बागलुङका दुई सहकारी पुरस्कृत

नेपालखोज २०७७ कार्तिक २८ गते १४:३८

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले बागलुङका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।

बैंकको बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने लखन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । प्रगति बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद शर्मा (कुमार) र प्रवन्धक मुना शर्मा तथा लखन सहकारीका अध्यक्ष खड्क बहादुर पुन र प्रवन्धक होम बहादुर थापालाई प्रतिनिधि सभाका सदस्य मन कुमारी जिसी केसी र राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी. (अञ्जु)ले सम्मानपत्र सहित पुरस्कृत गरेका थिए ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औँ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

पुरस्कार वितरण कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तथा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी जिसी केसीले सहकारी मार्फत समाज रुपान्तरणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिका आवश्यक रहेकोमा जोड दिए । विपन्न वर्गका जनतालाई आर्थिकरुपमा सक्षम बनाउनका लागि सहकारी उपयुक्त माध्यम भएकोले सहकारीको संस्थागत विकासमा राज्यको भूमिका बढाउन आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार तोयानाथ गौतम, सहकारी म्यानेजर्स क्लब बागलुङका अध्यक्ष दिपकजंग राजभण्डारी लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम बैंक समन्वय उपसमिति बागलुङका सहसंयोजक अशोकगोविन्द राजभण्डारीको अध्यक्षता र शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो । देशभरका शाखाहरु मध्ये दोस्रो शाखाकारुपमा स्थापित बागलुङ शाखामा हाल ३ सय १३ सदस्य संस्था, १५ करोड शेयर रकम, २ अर्ब १५ करोड निक्षेप र १५ करोड कर्जा लगानी रहेको शाखा प्रमुख त्रिपाठीले जानकारी दिए ।

यसैबीच बागलुङ शाखाबाट सरुवा भई अन्य शाखामा जान लागेका कर्मचारीहरुलाई सो अवसरमा विदाई गरिएको थियो । बागलुङ शाखाबाट बुटवल शाखामा जान लागेका शुशिल भट्टराई, भक्तपुरको कमलविनायक शाखामा जान लागेका रमेश ध्वोजु र दाङ शाखाका जान लागेका लिलाधर अधिकारीलाई मायाको चिनो सहित विदाई गरिएको थियो ।

प्रतिक्रिया