शनिबार, जेठ ५, २०८१

नेशनल लाईफ इन्स्योरेन्सको प्रथम बिमा शूल्क ७१ प्रतिशतले वृद्धि

नेपालखोज २०७८ फागुन २९ गते १५:४७

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड-१९ को प्रकोप यथावत रहेता पनि प्रतिस्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बिमितको आवश्यकताअनुसारको उच्च गुणस्तरीय बिमा योजनाहरुले गर्दा जीवन बिमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताईन् ।

नेपालको बिमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बिमा योजनाहरुको बढी माग हुने आँकलन गर्दै आर्थिक समावेशी एवं वित्तीय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयासहरुका साथै बढ्दो घरेलु वचत एवं प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिको कारण जीवन बिमा क्षेत्रमा थप टेवा पुग्न गएको उनको धारणा छ ।

सभामा अध्यक्षले आ.व.२०७६/०७७ मा कम्पनीको सबै वित्तीय सूचाकंहरु उत्साहप्रद रहेको बताइन् । नेपाल लाईफको कूल बिमा शूल्क १५ दशमलव १२ प्रतिशतले वृद्धि भई नौ अर्ब २६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । जीवन बिमा कोष २४ दशमलव २९ प्रतिशतले वृद्धि भई ३३ अर्ब ४६ करोड पुगेको र कूल लगानी १८ दशमलव ८४ प्रतिशतले वृद्धि भई ३१ अर्ब ८५ करोड पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६/०७७ मा वार्षिक औसत प्रतिफल १० दशमलव १६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पुँजीसमेत सन्तोषजनक रहेको छ । कम्पनीको चालु वर्षको वोनससमेत गरी कूल पुँजी चार अर्ब तीन करोड रुपैयाँ नाघेको छ ।

कम्पनीको बिमाकीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन फ्युचर बोनस प्रोभिजनिङमा यथेष्ट व्यवस्था गरिए पनि बिमितहरुलाई पूर्व वर्ष सरह वोनसदर प्रदान गर्न सफल भएको छ । आगामी वर्षहरुमा समेत बिमितहरुलाई बिमा लेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिवद्धता जनाईन् ।

सभामा अध्यक्षले आ.व.२०७७/०७८ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र प्रथम बिमा शूल्क ७१ प्रतिशतले वृद्धि भई चार अर्ब नाघेको जानकारी दिईन् । आउने दिनहरुमा समेत नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बिमकको रुपमा आम सर्वसाधारणको जीवन बिमाको आवश्यकता परिपूर्ति गर्नमा अग्रमणी भूमीका निर्वाह गर्नेमा उनले विश्वास प्रकट गरिन । कम्पनीले शाखा सन्जाल, अभिकर्ता व्यवसायीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराईन ।

सभाले आ.व. २०७६/०७७ को लागि चुक्ता पुँजीको १९ प्रतिशत वोनस सेयर जारी गर्ने र सो वोनस सेयर वापतको कर प्रयोजनको लागि तीन करोड ३९ लाख आठ हजार आठ सय ९२ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गरेको छ । यसैगरी सो साधारण सभावाट संस्थापक समूह क वर्गबाट प्रेमाराज्य लक्ष्मी सिंह, पवनबहादुर पाण्डे र कुशल मल्ली संचालकमा निर्वाचित भएका छन् भने, सर्वसाधारण ख वर्गबाट २ जना भवानी राणा र कुलदीप शरण सिंह निर्वाचित भएका छन् ।

प्रतिक्रिया