सबै शहरी सडकमा साइकल लेन बन्नुपर्छ : शहरी विकास मन्त्री

काठमाडौ । शहरी विकास मन्त्रालयले सबै शहरी सडकमा अनिवार्य रुपमा साइकल लेन हुनुपर्ने जनाएको छ । शहरी सडक निर्माण गर्दा साइकल लेन बनाउन पर्ने व्यवस्था भएपनि शहरमा निर्माण भइरहेको सडकमा साइकल लेन छैन । अधिकांश निर्माण कम्पनीले साइकल लेन बनाउने गरेका छैनन् ।
मन्त्रालयले अब बन्ने र बनिरहेका सबै शहरी सडकमा साईकल लेन बनाउनुपर्ने स्पष्ट पारेको छ । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले सबै शहरी सडकमा साइकल लेन बनाउनुपर्ने बताएका छन् । उनले साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले साइकल लेन नबनाएको भए तत्काल बनाउन निर्देशन दिएका छन् ।
साइकल प्रेमी अभियन्ताको तर्फबाट नेपाल साइकल सोसाइटीले शुक्रबार सबै शहरी सडकमा साइकल लेन बनाउन माग गर्दै अनुरोध पत्र बुझाएका थिए । मन्त्री श्रेष्ठले १० बुदे अनुरोधपत्र बुझ्दै शहर विकाससँगै साइकल लेनको विस्तार गर्नुपर्ने बताए । वातावरण र आर्थिक रुपमा समेत प्रभाव पार्ने विषयमा मन्त्रालयले ध्यान दिनेछ । ‘साइकल प्रेमी युवा अभियन्ताले दिएका सुझावलाई कार्यान्वयन गर्न सबै निकायलाई निर्देशन दिनेछु– मन्त्री श्रेष्ठको भनाई थियो ।
उनले अभियन्ताले दिएको सुझावलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने र सो को आधारमा सातै प्रदेश र ठुला शहर रहेका स्थानीय निकायमा सल्लाह गरी सबै सडकमा साइकल लेन बनाउन अगुवाई भुमिका खेल्ने बताए । मन्त्रालयले शहरी विकास मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालय, सोसाइटीका अधिकारी, वातावरणविद् लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने बताए । सो कार्यक्रममा आफ्नो धारणा राख्नै सचिव डा. रमेशप्रसाद सिंहले सबै शहरी सडकमा साइकल लेन बनाउने प्रतिवद्धता जनाए । उनले भने पोखरा, भरतपुर, काठमाडौ, विराटनगर, जनकपुरलगायत ठुला शहरी सडकमा साइकल लेन बनाउनै पर्छ ।
केही शहरमा बाटोको कारण साइकल लेन बनाउन केही समस्या भएको जानकारी गराउदै अब नयाँ बन्ने सबै सहरमा साइकल लेन बन्ने बताए । उनले वातावरण परिवर्तनबाट हुने असरलाई जोगाउन साइकल लेनले महत्वपुर्ण भुमिका राख्ने बताउँदै मानव स्वाथ्य र वातावरणको लागि साईकल लेन आवश्यक रहेको बताए ।
अब शहरी सडक निर्माणको क्रममा योजना तय गर्न सोसाइटीलाई समेत सहभागिता जनाउने गरी व्यवस्था गर्ने छौ– उनले भने । सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल चढ्नेको संख्या बढ्दै गएको र शहरी सडकमा साइकल लेनको अभाव रहेको गुनासो गरे । नयाँ सहर बनाइरहेको सरकारले अनिवार्य रुपमा साइकल लेन बनाउन सुझाव दिए । उनले भने नेपाल शहरी मापदण्ड–२०७६ स्वीकृत भई कार्यान्वयनको अवस्थामा सडकलाई पाथ, सडक, मार्ग र उपमार्गहरुमा वर्गिकरण गर्नुपर्छ । उनले सडक करिडोर, रिङरोड र अन्य सबै शहरी सडकमा साइकल लेन निर्माण गर्न आग्रह गर्दै भने साइकल लेनको अभावका कारण भएको दुर्घटनालाई रोक्न र निर्वाध रुपमा साइकलमा यात्रा सुरक्षित गर्न साइकल लेन बनाउनुपर्ने बताए । सोसाइटीले विभिन्न महानगर, उपमहानगर र नगरपालिकामा साइकल लेन, साइकल स्टेण्ड निर्माणसहितको पाइलट प्रोजेक्ट शुरु गर्न टाउन डेभलपमेन्ट फन्ट स्थापना गर्न माग गरेको छ ।
सोसाइटीका सल्लाहकार सागर वन्तले विश्वका अधिकांस देशका सडकमा साइकल लेन निर्माण भएको स्मारण गराउँदै नेपालका ठुला सडकमा पनि साइकल लेन बनाउन सुझाव दिए । सोही अवसरमा सोसाइटीले साइकलिष्ट, तथा वातावरणविद् प्रल्हाद योञ्जनको साइकल दुर्घटनामा मृत्यु भएको सम्झनामा कातिक १४ वा जन्मदिनमा साइकल दिवस मनाउन र साइकल प्रेमी एवं प्रशिक्षक श्याम श्रेष्ठको साइकल दुर्घटना भएको स्थल त्रिवि गेट नजिक साइकल पार्क निर्माण गर्न समेत आग्रह गरेको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले सरकारले साइकल दिवस र साइकल प्रेमी श्याम श्रेष्ठको सम्झनामा बल्खुमा पार्क बनाउने विषयमा पहल गर्ने बताए । सोसाइटीका सल्लाहकार वन्त, सृष्टीना श्रेष्ठ, सरिता मास्के, शैल श्रेष्ठ, राजेश महर्जन ,मधुकर महर्जन, रुबिन सिंह महर्जनले मन्त्री श्रेष्ठ र सचिव सिहलाई मागपत्र पेश गरेका थिए ।








प्रतिक्रिया