पार्टीको विवाद मिलाउन मन्त्री पद नै त्याग्न तयार छु: मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीको विवाद मिलाउन आवश्यक परे आफ्नो मन्त्री पदसमेत त्याग्न तयार रहेको बताएका छन् ।
मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले पार्टीको विवाद मिलाउनका लागि आफू लगायतका धेरै कार्यकर्ता त्याग गर्न तयार रहेको बताएको हुन् ।
‘स्थिर सरकारको मूल नेतृत्व परिवर्तनबाहेक म लगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं,’ उनको फेसबुक स्टाटसमा लेखिएको छ ।
कोभिड संक्रमण बेला प्रतिपक्षी दलले पनि सहयोग गरिरहेको अवस्थामा आफ्नै पार्टीबाट असहयोग र विवाद झिक्ने काम भएको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।
यस्तै पार्टीका कार्यकारी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले गत शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रचण्डको राजनीतिक प्रस्ताव स्थगित गर्न पनि उनले आग्रह गरेका छन् ।
‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति,, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’ स्टाटसमा लेखिएको छ ।








प्रतिक्रिया