बिहीबार, वैशाख ६, २०८१

र्‍यालीअफ होपको तेस्रो श्रृङ्खला आईतबार, विश्वनेताहरुले सम्बोधन गर्ने

नेपालखोज २०७७ मंसिर ३ गते ११:२०

काठमाडौं । संयुक्त राष्ट्रसंघको महापरामर्शदाताको हैसियत प्राप्त यूनिभर्सल पीस फेडेरेसनले यही मंसिर ७ गते आइतबारका दिन र्‍याली अफ होपको तेस्रो श्रृङ्खला संचालन गर्ने भएको छ । कोभिड– १९ महामारीले निम्त्याएको स्वास्थ्य प्रोटोकलका कारण भर्चुअल रुपमा संचालन हुने र्‍यालीको विषय “शान्तिपूर्ण एकीकृत संसार स्थापनाका लागि र्‍याली अफ होप” रहने युपीएफले जनाएको छ ।

दक्षिण कोरियाबाट अनलाइन प्रसारण हुने कार्यक्रमलाई नेपाली समयअनुसार बिहान ६ः१५ बजे सुरु हुनेछ । विगत महिनाहरूमा पनि यूनिभर्सल पीस फेडेरेसनले अन्तरनिर्भरतापूर्ण अर्थतन्त्र, सहभागितामूलक तथा पारदर्शी राज्य संचालन प्रणाली एवं विस्तारित परिवारका रुपमा विश्वको एउटै साझा मूल्य–मान्यताको अर्थ दिने अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी साझा मूल्य–मान्यता विषयमा र्‍याली अफ होपका श्रृङ्खलाहरूका साथै अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गरेको थियो ।

युपीएफले विद्यमान जातिगत भेदभावका साथै गरिबी र भोकमरीको उन्मुलनका साथै धार्मिक द्वन्द्वलाई पनि अन्त्य गर्ने प्रतिबद्धता समेत विश्वमञ्चमा व्यक्त गरेको छ । अद्भूत डिजिटल प्रविधिमार्फत प्रस्तुत हुने र्‍यालीमा इन्टरनेट लाइभमार्फत करोडौं दर्शकहरूले सहभागिता जनाउने बताइएको छ । कार्यक्रमलाई मदर अफ पीसका रुपम परिचित, यूनिभर्सल पीस फेडेरेसनकी सह–संस्थापिका डा. हाक जा हान मुनलगायत इथियोपिया, केन्या, दक्षिणी सुडानका राष्ट्रपति क्रमशः रसह्लेवर्क जेवद, उहुरु केन्याट र साल्भाकिर मायार्दित, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष, कोलम्बियाका सभामुख जर्मन एल्सडेस ब्लान्को अल्भार्ज, बेल्जियमका पूर्व प्रधानमन्त्री युभेस लेटेर्म लयायतका विश्वनेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । साथै प्रसिद्ध कोरियाली बाल कलाकार समूह दी लिट्टिल एञ्जेल्सले कोरियाली युद्धका भेटेरानहरूको सम्मानमा आफ्नो कला प्रस्तुत गर्नेछन् । स्मरण रहोस् सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धले यस वर्ष सत्तरीऔं वर्ष पूरा गरेको छ ।

र्‍याली अफ होपको वेब साइटमा उल्लेख गरिएअनुसार यसको एउटा उद्देश्य कोरियाली प्रायद्वीपको पुनर्मिलन तथा उत्तरपूर्वी राष्ट्रहरूबीचको सहचारिता रहेको छ । उक्त लक्ष्य हासिल गर्नका लागि यूपीएफले परिवारिक मूल्यमान्यता, खुल्ला बजारमा आधारित विश्वअर्थतन्त्र र प्रजातान्त्रिक समाजको वकालत गर्दै आइरहेको छ ।

प्रतिक्रिया