बिहीबार, पुष ३, २०८२

छठ पर्व प्रकृति र सभ्यताको अनुपम उदाहरण -मन्त्री भट्टराई

नेपालखोज २०७७ मंसिर ४ गते १४:१७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले छठ पर्वलाई प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका छन् ।

छठको अवसरमा आज शुभकामना ब्यक्त गदै मन्त्री भट्टराईले मानव जीवन अस्तित्वसँग जोडिएको उर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यको आराधना गरेर मनाईने छठ पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व भएको उल्लेख गर्दै छठ पर्व प्रकृति र सभ्यताको अनुपम उदाहरण भएको बताएका हुन् । उनले छठको अवसरमा उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिँदा प्रकृति र मानवबीचको गहिरो अन्तरसम्बन्ध झन् प्रगाढ हुने विश्वास ब्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले छठ पर्व एउटा समुदाय, एउटा भूगोल विशेषमा मात्र सीमित नरहेको बताउदै विगतमा मुख्य रुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यका लगायत मुलुकका अन्य भूभागमा पनि धुमधामसँग मनाउन थालिएको कारण हाम्रो मौलिक संस्कृतिको आयातन फराकिलो बनेको दाबी गर्दै जातीय, धार्मिक र सम्प्रदायिक विविधता भएको हाम्रो जस्तो मुलुकमा सांस्कृतिक आयातन जति फराकिलो बन्दै जान्छ त्यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्द्रतालाई पनि प्रगाढ र सुमधुर बनाउने दाबी गरे ।

मन्त्री भट्टराईले पर्वले सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको उल्लेख गदै यो एकताले निश्चय नै ’समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानलाई सफल बनाउन ठूलो टेवा मिल्नेमा कुनै शंका नभएको बताए ।

उनले हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्रताको धरोहर छठ पर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता, मेलमिलाप र मुलुकको समृद्धिका लागि गोलवद्ध हुन थप प्रेरणा प्रदान गर्ने विश्वास ब्यक्त गदै सूर्यको उपसना गर्दै मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भावव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया