बिहीबार, चैत १५, २०८०

हतियारसहित नेकपा कार्यकर्ता पक्राउ

नेपालखोज २०७७ मंसिर ७ गते ११:५५

मोरङ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य लडाकुलाई मोरङको उर्लाबारीबाट प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

पक्राउ परेका शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद भएको एसपी खड्काले जानकारी दिए ।

खड्काका अनुसार विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको हो ।

पक्राउपछि हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको बताइएको छ ।

उनीविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भएको छ ।

प्रतिक्रिया