बिहीबार, वैशाख १३, २०८१

हरिबोधिनी एकादशी, तुलसी विवाह एवं ठूली एकादशीको महत्व

नेपालखोज २०७७ मंसिर १० गते १३:१०

समुद्रमा शेषशायी भगवान् विष्णु उठ्ने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ । यसै दिन भक्तजनहरु दामोदर भगवान् तथा तुलसीको विवाह गर्ने गर्दछन् त्यसैले यस पर्वलाई तुलसी विवाह पनि भनिन्छ । वर्षभरिका एकादशीहरुमा सबैभन्दा ठूलो एकादशी भएकोले यो एकादशीलाई ठूली एकादशी भनिएको सर्वविदितै छ ।

वर्षको ठूला पर्वहरुको विसर्जन गर्न आएको हरिबोधिनी एकादशीमा नेपाली हिन्दुहरु वर्षभरि गरिएका काम्य कर्महरुको घरको तुलसी मोठ नजिक होम गरेर ब्रत उद्यापन गर्दछन् ।

वैदिक सनातन धर्म एवं आर्युवेदमा तुलसीको ठूलो महत्व छ । घरको आँगनमा तुलसीको मोठ बनाउने र तुलसीको पूजा गर्ने एवं तुलसीको पानी पिउने चलन निकै पुरानो हो । तुलसी जल पिउनाले विविध रोगहरुबाट छुटकारा पाइने आर्युवेदमा वताइएको छ । तुलसीको मोठ विविध धार्मिक पर्वदेखि मृत्युशैयासम्म प्रयोग हुँदै आएको छ । खानामा थोरै तुलसीको पात राखेर खानाले स्वास्थ्यमा राम्रो प्रभाव पर्ने आयुर्वेदको मत छ । भगवान् विष्णु र कृष्णको अत्यन्त प्रिय रहेको तुलसी वृक्ष सम्बन्धि अनेक रोचक प्रसंगहरु पुराणका कथाहरुमा वर्णन गरिएका छन् । वैज्ञानिक मत अनुसार तुलसीमा अन्य वृक्षको तुलनामा अक्सिजनको मात्रा धेरै हुन्छ । आषाढ शुक्ल एकादशीमा रोपिएको तुलसीलाई मोठ सिँगार पटार एवं लिंगा चौका गरी हरिबोधिनी एकादशीमा भगवान् दामोदरसँग धुमधामले विवाह गरिदिने चलन पनि छ । कतै कतै पिपलसँग विवाह गरिदिने चलन पनि छ ।

प्रचीनकालमा काठमाडौं उपत्यकामा भगवान् विष्णुको अनुकम्पा बनिरहोस् भनेर काठमाडौंको चारैतिर चार नारायणको स्थापना गरिएको थियो । भक्तजनहरु चरै नारायणको ठूली एकादशीको व्रत गर्दै खाली खुट्टा पैदल परिक्रमा गर्दथे । पछि पाटनको कृष्ण मन्दिर प्रङ्गणमा चारै नारायणको प्रतिमा राखियो र भक्तहरु पटनमा चार नारायणको परिक्रमा गर्ने गर्दछन् ।

हरिबोधिनी एकादशीमा देशैभरका ठूला धार्मिक स्थलहरुमा वाजागाजा सहित डोरीमा पूmलको डोली बनाई नदी पार गराउने गरिन्छ साथै मेला पनि लाग्ने गर्दछ ।

प्रतिक्रिया