शुक्रबार, वैशाख ७, २०८१

खोप अभावपछि काठमाडौंमा कोरोनाविरुद्धको ‘खोप कार्यक्रम’ रोकियो

नेपालखोज २०७८ जेठ २७ गते २०:१०

काठमाडौं । काठमाडौँ महानगरपालिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा संचालन गर्दै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगित भएको हो ।

काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए ।

नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्ष भन्दा माथि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भने पछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं । अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ’, जनस्वास्थ्य प्रमुख कुँवरले भने । अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताए ।

कार्यक्रमअनुसार काठमाडौं महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।

प्रतिक्रिया