शुक्रबार, चैत १६, २०८०

भारतमाथि जितसँगै अष्ट्रेलियालाई एक खेल अगावै उपाधि

नेपालखोज २०७७ मंसिर १४ गते २०:२६

एजेन्सी – अष्ट्रेलियाले भारतसँगको तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । दोस्रो ओडिआई खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगावै सिरिज जित्न सफल भएको हो ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा माथिको योगदान दिए । ओडिआई इतिहासमा दोस्रो पटक शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० माथिको रन बनाएका हुन् । ब्याट्सम्यान ग्लेन म्याक्सवेल, स्टिभ स्मिथले, आरोन फिन्च, डेभिड वार्नर र मार्नस लाबुसेनले ५० माथिको रन बनाउन सफल भएका हुन् ।

जितका लागि ३ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन बनाउन सक्यो ।

शुक्रबारको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार मनुका ओवल क्यानवेरामा हुनेछ ।

प्रतिक्रिया