मंगलबार, वैशाख २५, २०८१

यसरी जित्यो नेपालले

नेपालखोज २०८० वैशाख १६ गते १७:०६

काठमाडाैं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको छ । खेल नतिजा विहीन भएपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो । अब नेपालले फाईनलमा दोस्रो सेमिफाइनलको बिजेता युएईको सामना गर्नेछ ।

जितका लागि २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि भारी वर्षा हुँदा खेल सुपर ओभरमा जान सकेन । कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए ।

नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित यो खेलमा ८-८ ओभर घटाइएर ४२ ओभरमा सिमित गरिएको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रनको योगदान दिए । रोहित आफ्नो करिअरको दोस्रो शतक हान्नबाट चुकेका थिए । त्यसअघि रोहितले दुई जीवनदान पाएका थिए । चौथो विकेटका लागि रोहित र कुशलले १ सय ९ रनको शतकीय साझेदारीका साथ नेपाल विशाल योगफलको आधार तयार गरे । कुशल मल्ल ४४ बलमा ४ चौका र ४ छक्कासहित ५७ रनमा क्याच आउट भएका थिए ।

ओपनर कुशल भुर्तेलले ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाए । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले १०.५ ओभरमा ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । १२ औं ओभरको दोस्रो बलमा भीम सार्की एक रनमा क्याच आउट भए । अर्का ओपनर आसिफ शेख २८ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा क्याच आउट भए ।

नेपालका आरिफ शेख ३६ औं ओभरको दोस्रो बलमा १९ रनमा स्टम्पिङ भए । उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । नेपालका लागि सोमपाल कामीले १३, करण केसी ७, सन्दीप लामिछाने ५ र ललितनारायण राजवंशीले २ रन बनाए।

कुवेतका कप्तान मोहम्मद अस्लामले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए भने आदनान इद्रिसले ८ ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । स्पिनर यासिन पटेलले ९ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए भने सैयद मोनिबले एक विकेट लिए ।

प्रतिक्रिया