बिहीबार, चैत १५, २०८०

बीबीसी मास्टर सेफको फाइनल राउण्डमा सन्तोष

नेपालखोज २०७७ मंसिर २६ गते १०:१५

लण्डन । बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

बिहीबार राति प्रसारित एपिसोडमा सन्तोषले निर्णायक मण्डललाई नेवारी परिकार ‘योमरी’ चखाएर उनीहरुको मन जितेका थिए । यसका साथै उनले निर्णायकहरुको अनुरोधमा चिकन चिल्ली, हट एण्ड सावर सुप, क्रिस्पी नूडल्स लगायतका इन्डो चाइनिज परिकारहरु पनि पस्किएका थिए ।

बिहीबारको सेमीफाइनल राउण्डबाट सन्तोषले उत्कृष्ट ६ मा पर्दै फाइनल राउन्डको यात्रा तय गरेका हुन् । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा जम्मा ३२ जना व्यावसायिक सेफहरुसँगको विभिन्न चरणको प्रतिस्पर्धा गर्दै उनि टप ६ सम्म पुग्न सफल भएका छन् ।
प्रतियोगिताको फाइनल अर्को हप्ता डिसेम्बर १७ तारिखमा हुँदैछ । यसअघिको राउन्डमा सन्तोषले रोस्टेड काँक्रोको बिँया, पोलेको कटहरको बिँया, बन तरुल, प्याजको अचार, स्याउको चट्नी लगायतका परिकारको सफल प्रदर्शनी गरेर टप ८ मा पर्न सफल भएका थिए ।

नेपाली खानालाई विश्वसामू पुर्याउने लक्ष्य लिएर अघि बढेका सन्तोषले यस अघि विभिन्न नेपाली परिकारहरु टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी, तामाको अचार पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् ।

यतिमात्र हैन लाखौँ दर्शकले विश्वभरबाट अवलोकन गरेको उक्त टिभी शो मार्फत उनले नेपाली खानालाई अन्तर्राष्ट्रिय जगतमा राम्रोसंग परिचित गराउन सफल भएका छन् । यस किसिमको प्रतिस्पर्धामा सहभागिता जनाउने सन्तोष साह नै पहिलो नेपाली हुन् । प्रतिस्पर्धाको फाइनल राउण्डसम्म पुग्नेमा भारतीय वा अन्य कुनै कुइजिन लिएर पुग्ने नेपाली सेफहरु समेत खासै चिनिएका छैनन् ।

सिरहा जिल्लाको कर्जन्हा घर भएका सन्तोषको पारिवारिक पृष्ठभूमि अत्यन्त कमजोर थियो । पारिवारिक समस्याका कारण भारत छिरेका सन्तोष आफ्नो मिहिनेत, परिश्रम र लगनशीलताका कारण भारतको पाँचतारे होटलदेखि लन्डनको मिसेलिन स्टार सेफद्वारा संचालित रेष्टुरेन्टसम्म पुग्न सफल भए ।

अहिले उनी बेलायतस्थित प्रतिष्ठित भारतीय रेष्टुरेन्ट तथा होटलहरुमा उच्च तहको सेफका रुपमा कार्यरत छन् । यहाँ निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरुमा एक्जुकेटिभ सेफसम्मको उच्च पोजिसिनमा पुगेका छन् उनी । बेलायतमा रेष्टुरेन्ट तथा होटल क्षेत्रमा एक नेपालीले पाएको यस्तो सफलता सायदै अन्य नेपालीले पाएका होलान् ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउने उनले बताए । नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेर उनी अघि बढेका छन् । ‘मिसिलिन स्टार’ भनेको विश्वका गुणस्तरीय र राम्रो खानेकुराको उत्कृष्ट सेवा पुर्याउने रेष्टुरेन्टलाई दिइने विशेष सम्मान तथा पहिचान हो ।

आगामी फाईनलमा सन्तोषले कस्तो नतिजा प्राप्त गर्नेछन् त्यो त हेर्न बाँकी नै छ, तैपनि नेपाली खान लिएर अहिलेको अवस्थामा पुग्नु नेपाल र नेपालीकै गौरवको विषय हो ।

प्रतिक्रिया