देउवा नजाने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो। आज बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन। संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ। सरकारविरुद्ध भोलि देशव्यापी रुपमा गर्न लागेको विरोध प्रर्दशनको तयारी गर्नुपर्ने भएकाले सभापति देउवा परिषद बैठकमा जान नभ्याउने देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।
सभापति देउवाले बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश आफ्ना प्रतिनिधि नेता रमेश लेखकमार्फत् हिजै प्रधानमन्त्री ओलीलाई पठाइसकेका थिए।
आज संवैधानिक बैठक बसाल्ने तयारीका लागि प्रधानमन्त्री ओलीले शुक्रबार नै कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त, आयुक्त लगायत संवैधानिक आयोगहरूमा पदाधिकारी रिक्त छ। लामो समय पदाधिकारीविहीन भएपछि ओलीले परिषद बैठक बोलाउन देउवासँग शुक्रबार छलफल गरेका थिए। स्थगित भएको बैठक अब कहिले बस्ने भन्नेबारे भने अन्योल छ।








प्रतिक्रिया