शुक्रबार, पुष ४, २०८२

अवैध यार्सागुम्बासहित चार जना पक्राउ

नेपालखोज २०७७ मंसिर २८ गते १३:३५

काठमाडौं । राजधानी काठमाडौबाट अवैध यार्सागुम्बा सहित चार जना व्यक्तिहरु पक्राउ परेका छन् । करिब चार सय ६८ ग्राम अवैध यार्सागुम्बा जस्तो देखिने वस्तुसहित चार जनालाई शनिबार बेलुका पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

बृत्तकाअनुसार पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत बराहाताल गाउँपालिका ५ घर भएका ५५ वर्षीय शेर बहादुर थापा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० बस्ने संखुवासभा चैनपुर नगरपालिका २ घर भएका २२ वर्षीय हिमाल गुरुङ, काठमाडौं गोकर्णश्वर नगरपालिका–५ जोरपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका ६ घर भएका २४ वर्षीय बिशाल परियार र काठमाडौं गोकर्णश्वर नगरपालिका ४ माकलबारी बस्ने रामेछाप हिमगंगा गाउँपालिका ७ घर भएका ५९ वर्षीय सुनिल तामाङ रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका ६ नारायणटारमा अबैधरुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बा जस्तो देखिने वस्तु फेला पारी नियन्त्रणमा लिएको थियो, प्रहरीले भनेको छ ।

थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेर बहादुरले दिएको बताएपश्चात महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेरबहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको हो । शेर बहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका ४ सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बरामद बस्तु आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

प्रतिक्रिया