आइतबार, पुष ६, २०८२

पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि प्रति महिना रेन्टल चार्ज ३ सय ८३ रुपैयाँ

नेपालखोज २०७७ मंसिर २९ गते १५:५०

काठमाडौं । पोस्टपेड मोबाइल प्रयोगकर्ताको लागि प्रति महिना रेन्टल चार्ज ३ सय ८३ रुपैयाँ सात पैसा तोकिएको छ । नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताले मासिक रेन्टल चार्ज वापतको रकम समेत प्रयोग गर्न सकिने र पोस्टपेड प्याकको उपलब्धता सम्बन्धमा बिज्ञप्ती जारी गर्दे टेलिकमले उक्त जानकारी दिएको हो ।

टेलिकमले भनेको छ, पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम रु. ३८३.०७ रेण्टल शुल्क तिर्नुपर्दछ । यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रेण्टलवापत रु. ३८३.०७ तिर्नुपर्छ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको हो, जुन अहिले पनि कायम छ । यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ ।

पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकका प्रयोगकर्ताको संख्या वृद्धि भइरहेको छ । ग्राहकले प्याक प्रयोग गर्दा यो रेन्टल चार्ज भन्दा छुट्टै रकम काटिन्छ । सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्ज वापतको रकममा खासै ध्यान नगएको पनि देखिएको छ ।

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गरिन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौं, कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ । कम्पनीको जिएसएम पोस्टपेड सेवामा विगत लामो समयदेखि यसरी नै बिलिंग हुने भएतापनि हाल सस्तो दरका प्याकहरु उपलब्ध भएपश्चात् धेरै ग्राहक झुक्किने गरेको पाइएको छ ।

उदाहरणका लागि, कुनै पोस्टपेड मोबाइल प्रयोगकर्ताले रु. २०० को प्याक प्रयोग गरेको छ भने प्याक वापतको रु. २०० र रेन्टल चार्ज वापतको रु. ३८३.०७ गरी रु. ५८३.०७ तिर्नुपर्छ । मानौ, १४ तारिखका दिन ग्राहकको मोबाइलमा बाँकी रकम रु. ४०० थियो भने सो रकम समेत काटिएर थप रु. १८३.०७ समेत तिर्नुपर्ने हुन्छ ।

पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ । पोस्टपेड प्याक लिंदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना हुँदैन । सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ ।

प्रतिक्रिया