संवैधानिक परिषद‍्को बैठक शुरु : देउवा उपस्थित, सभामुख अनुपस्थित

नेपालखोज २०७७ मंसिर ३० गते १०:३४

काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राखेका हुन् ।

सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा सभागी भएका छन् भने सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएका छन् ।

परिषद् सदस्य समेत रहेका सभामुख सापकोटा निकट स्रोतका अनुसार परिषद्का सदस्यहरुबीच समन्वय अभाव, पूर्वतयारीको कमी र पर्याप्त गृहकार्य समेत नभएकाले उनी आजको बैठकमा सहभागी नभएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत असन्तुष्ट छन् ।

गत भदौ २६ गतेको स्थायी समिति बैठकले राजनीतिक तथा संवैधानिक नियुक्ति गर्दा आवश्यकताअनुसार पार्टीमा समेत छलफल गरेर मात्रै गर्ने निर्णय गरेको थियो ।

परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् भने सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । यसअघि मंसिर २८ गते बोलाइएको परिषद् बैठक पनि गणपूरक संख्या नपुगेर स्थगित भएको थियो ।

सो दिनको बैठकमा सभामुख सापकोटासँगै प्रमुख प्रतिपक्ष दलका नेता देउवासमेत सहभागी भएका थिएनन् । सो अघि शनिबार ओलीले देउवासँग भागबण्डाका लागि परामर्श गरेका थिए ।

प्रतिक्रिया