सोमबार, वैशाख १५, २०८२

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया प्रस्थान

नेपालखोज २०७७ मंसिर ३० गते १३:३३

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीप तेस्रो पटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ गएका छन् ।

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् । बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती छ खेल गुमाउने छन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए ।

उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए । उनि आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो ।

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । हाल सन्दीप कोरोनाबाट मुक्त भइसकेका छन् ।

प्रतिक्रिया