मंगलबार, पुष १, २०८२

अन्नपूर्णमा पहिलो पटक पुगे चिकित्सक

नेपालखोज २०७७ पुष ५ गते ७:५८

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो । यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए ।

“कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौँ”, उनले भने, “कोरोना अस्पताल सञ्चालनको तयारी गरेका छौँ ।”

नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा पाँच शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् । कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् । मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई रु १० लाखका दरले बजेट पठाएको थियो ।

प्रतिक्रिया