बुधबार, पुष २, २०८२

बाल सहभागिता सम्वन्धी बृहत सम्मेलन सम्पन्न

नेपालखोज २०७७ पुष ७ गते १९:५३

काठमाडौ । बाल अधिकार सम्वन्धी महासन्धि पारित भएको ३१ वर्ष पूरा भएको अवसरमा साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समुह (एनएसीजी) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एशिया स्तरीय बालसहभागिता सम्वन्धी सम्मेलन आज सम्पन्न भएको छ ।

साइभाक का महानिर्देशक तथा सिआरसी समितिका सदस्य डा. रिन्चेन छोपेलले संचालन गरेको सो कार्यक्रममा एनएसीजी नेपालका अध्यक्ष कृष्णचन्द्र आचार्यले स्वागत गर्दै नेपालसहित सार्क राष्ट्रमा भएका बालअधिकार सुनिश्चितताका लागि भएका प्रयासहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा दक्षिण एशियाका ५ देशले सहभागिता जनाएका थिए भने ५ देशका बालबालिकाले आफ्नो प्रस्तुती राखेका थिए ।

साइभाक चाइल्ड गभर्निङ बोर्डकी सदस्य प्रेनुशा पाण्डेले सम्मेलनमा सहभागीहरुलाई सम्वोधन गर्दै कोभिड १९ को असरबाट नेपालका बालबालिका पनि अछुतो नरहेको र अझै बालबालिकाको समग्र विकासका निम्ति काम गर्नुपर्ने बताइन् । उक्त कार्यक्रममा अफगानिस्तान, भारत, मालदिभ्स, नेपाल र श्रीलंकाका बालबालिका, पाँचै देशका एनएसीजीका प्रतिनिधि, अधिकार अभियन्ता तथा प्रतिनिधि, सरकारी निकायका प्रतिनिधिहरु र बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

उक्त कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सम्मेलनलाई सम्वोधन गर्दै बाल सहभागिता बालबालिकाहरुको महत्वपूर्ण अधिकार भएकाले बाल सहभागिता प्रत्याभुतिका लागि आगामी अभियान आवश्यक भएको र बाल सहभागिता अरु अधिकार भन्दा उपेक्षा गरिएको मुद्दा भएकाले यसमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । कार्यक्रममा विकास साझेदार संस्थाका प्रतिनिधिहरु र सार्क राष्ट्रका प्रतिनिधिहरुले पनि सम्वोधन गरेका थिए ।

कार्यक्रमको समापनका क्रममा साइभाकका महानिर्देशक तथा सिआरसी समितिका सदस्य डा. रिन्चेन छोपेलले यस किसिमको सम्मेलनले आगामी दिनहरुमा पनि निरन्तरता पाउने र बालअधिकारका विषयमा छलफल गर्ने, सिकाइ तथा अभ्यासहरुको बारेमा अनुभव आदानप्रदान गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले बाल अधिकारको विषयमा आफु संवेदनशील र गम्भीर रहेको धारणा राखे ।

प्रतिक्रिया