शनिबार, वैशाख २२, २०८१

बाल व्यवहार र सकारात्मक अनुशासन

नेपालखोज २०८० साउन ३० गते ८:०८

बाल व्यवहार भन्नाले बालबालिकाले उमेर, अवस्था र परिवेशअनुसार शारीरिक हाउभाउ तथा भावनाहरू अभिव्यक्त गर्नु हो । अर्काे शब्दमा भन्नुपर्दा बालबालिकाको व्यवहार स्थानीय तथा राष्ट्रिय स्तरको मापदण्डमा उल्लिखित अवलोकन गर्न सकिने शारीरिक र संवेगात्मक सक्षमता, सिप, क्रिया प्रतिक्रिया सही समयमा सही ढङ्गले प्रर्दशन गर्न सक्नु हो । बालव्यवहार प्रर्दशन गर्नुको मुख्यतः दुई कारण हुन्छ:
१) केही पाउन
२) मतलब नगर्न (वास्ता नगर्न)

बालबालिकामा विश्वास, अस्तित्त्ब, पहिचान, शान्तिको भावना र आत्मनियन्त्रण गर्ने सिप उनीहरूको जन्मदेखि पाँच वर्षको अवस्थासम्ममा विकास भइसक्छ । बालबालिकाको बानी व्यवहारहरूको सिर्जना गर्न गराउन प्रमुख पाँच आवश्यकता पूरा हुनुपर्दछ । ती आवश्यकताहरू जिउन, रमाउन, स्वतन्त्रता, स्नेहमयी सम्बन्ध र शक्तिसहितको अस्तित्व हुन् । ती आवश्यकताहरू उनीहरूले पाउने वातावरणबाट नै हो । 

बाल व्यवहार र वातावरण  

बालबालिकाको वातावरण भन्नाले ठाउँ (घर, छरछिमेक, पूर्व प्राथमिक कक्षा वा बालविकास केन्द्र, विद्यालय),वस्तु (खेलौना, दैनिक जीवनका सामग्री), व्यक्ति (आमाबुबा, अन्य अभिभावक, साथी), समय तथा कार्यक्रमहरूलाई बुझाउँछ । उनीहरूको बानी, व्यवहार घरपरिवारको संस्कृति, भाषा र वातावरणअनुसार विकास हुन्छ ।

अनुसन्धानअनुसार, गर्भावस्थाको शिशुले आमाबुबा, परिवार र वरिपरिको वातावरणमा भएको ध्वनि (सानो ठुलोआवाज, बाजाको सङ्गीत, जीवजन्तु, चराचुरुङ्गीको आवाज) सुन्ने गर्दछन् । जन्मपछि बोलीचाली, व्यवहार, रीति सस्ंकार हेरेर सुनेर, आफैँ गरेर सिक्ने हुनाले आमाबुबाले सही भाषा र कर्म गर्नुपर्दछ । साना साना बालबालिकाले सुन्दैनन्, बुझ्दैनन्, केही प्रतिक्रिया जनाउँदैनन् भन्ने भ्रम आजैबाट छोड्नुपर्छ । त्यसैले कुनै पनि नकारात्मक कुरा र व्यवहार गर्भावस्थादेखि नै गर्नु हुँदैन । 

प्रत्येक शिशु/बालबालिकाको वृद्धि विकासमा वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ । बालबालिकाले पाउने वातावरणमा यदि अभिभावकले कुनै किसिमको (लिङ्ग, क्षमता आदि) भेदभावपूर्ण व्यवहार गरेमा, जस्तै फरक फरक भाषा, बोली बोलेमा, बालबालिकाको शारीरिक, बौद्धिक, भावनात्मक र सामाजिक विकासमा समेत नकरात्मक असरपर्दछ ।

प्रतिक्रिया