प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सुरु, प्रचण्डलाई दलको नेता चयन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता चयन गर्ने बताइएको छ । यसअघि एकीकृत नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।
मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो । नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।
यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।
गत आइतबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिस अनुमोदन गरेकी थिइन् । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै अधिकांश दल विरोधमा छन् ।

प्रतिक्रिया