ठुलो आवाज निकाल्ने मोटरसाईकल चलाउँदै हुनुहुन्छ ? कारवाहीमा पर्नुहोला

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत एक महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गर्न थालिएको छ ।

महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने तीन सय ४२ वटा मोटरसाईकलहरुलाई कारवाही गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जानकारी दिएका छन् ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुन विपरित भएकोले कारवाही गरेको हो ।
यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाईकलहरू कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराई दिनु सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोधसमेत गरेको छ ।








प्रतिक्रिया