बिहीबार, पुष ३, २०८२

ऐन महरलाई अनेरास्ववियूको संयोजकबाट कारबाही

नेपालखोज २०७७ पुष १० गते १६:३४

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले केपी शर्मा ओली समूहको अनेरास्ववियुका संयोजक ऐन महरलाई कारबाही सिफारिस गरेको छ ।

अनेरास्ववियूका सह(संयोजक रञ्‍जित तामाङले एक विज्ञप्ति जारी गर्दै महरलाई कारबाही गरिएको जानकारी गराएका छन् । “अनेरास्ववियुको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कारबाही गरिएको र उक्त कारबाहीलाई अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटीसमक्ष सिफारिस गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो चरणमा महरले प्रधानमन्त्री केपी ओलीले चालेको संसद् विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदममा बहुमत सदस्य निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमा समेत उभिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

त्यस्तै विज्ञप्तिमा महरले संगठनको विधानविपरीत एकतर्फी रुपमा अल्पमत सदस्यहरुको बैठकसमेत बोलाएर संगठनको एकतालाई नै खण्डित तुल्याउने कामको अगुवाइ गरेको आरोपसमेत लगाइएको छ ।

प्रतिक्रिया