कांग्रेसको प्रदर्शन : विश्वप्रकाशले कोटेश्वर र गगनले नेपालगन्जमा सम्वोधन गर्ने

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले गर्ने सोमबारको विरोध प्रदर्शनमा नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने भएका छन् ।
केन्द्रीय कार्यसमितिको बैठकले १६५ निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रको विरोध कार्यक्रममा सहभागी हुने बताइएको छ ।
कतिपय नेताहरु जिल्लाले तय गरेका विरोध सभामा सहभागी हुने भएका छन् । प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौं २ को विरोध प्रदर्शनमा सहभागी हुने भएका छन् । विरोध सभापछि हुने सभालाई शर्माले कोटेश्वरमा सम्वोधन गर्ने तय भएको छ ।
नेता गगन थापा नेपालगन्जमा हुने विरोध सभामा सहभागी हुने भएका छन् । जारी केन्द्रीय समितिको बैठकलाई बीचमै रोकेर सोमबारको विरोध प्रदर्शनमा कांग्रेस केन्द्रीत भएको छ ।
पार्टीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरे पनि संसद पुनर्बहालीको माग गरेको छैन । पार्टी सभापति शेरबहादुर देउवा समूह निर्वाचनबाट पछि हट्न नहुने पक्षमा छ । अर्कोतर्फ संस्थापनइतरका नेताहरु असंवैधानिक कदमको विरोधमा सडकमा जानुपर्नेमा जोड दिइरहेका छन् ।








प्रतिक्रिया