शुक्रबार, पुष ४, २०८२

बैठक भनेपछि ओलीको सातो जान्थ्यो : प्रचण्ड

नेपालखोज २०७७ पुष १४ गते १६:२३

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सातो जाने गरेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरूद्ध मंगलबार राजधानीको प्रदर्शनीमार्गमा प्रचण्ड-माधव पक्षीय नेकपाले आयोजना गरेको विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

‘बैठक भनेपछि उहाँको सातो जान्थ्यो। बैठक बोलाइए पनि उहाँले बोल्ने अवसर नै दिनुहुन्नथ्यो,’ उनले भने, ‘उहाको क्रुर भावना थियो। जनविरोधी भावना थियो ।’

सचिवालय कमिटी र स्थायी कमिटीको बैठकमा सहभागी नभएर अरू नै काम गर्ने  गरेको समेत प्रचण्डको आरोप थियो । 

प्रचण्डले सदन नभएर ओली सरकारको विघटन भएको बताए । ‘संविधानमा हुँदै नभएको अधिकारलाई प्रयोग गरेर ओली सदन विघटनको प्रस्ताव गरेका छन् । ओलीले सदन होइन, आफ्नो सरकारको विघटन गरेका हुन् । सदन जिवित छ। उनले कलंकको टीका लगाएका छन् । उनले नेपाली जनताको सामु माफी माग्नुपर्छ’, उनले भने ।

सर्वोच्च अदालतले संविधाको मर्म र भावना बोक्न सक्दैन भनेर आफूले सोच्न नसक्ने उनले बताए ।

संविधान र लोकतन्त्र माथिको निर्मम प्रहारलाई सच्याउने प्रयत्न गरिएन भने आन्दोलनको आँधी बेहरी आउने छ । समयमा गल्ती सच्याएनौ भने २५० वर्षको राजतन्त्रलाई त फाल्ने जनताले ओलीको निरंकुशतालाई पनि सजिलै फाल्ने उनले बताए ।

प्रतिक्रिया