शुक्रबार, पुष ४, २०८२

सुधार र परिवर्तनद्वारा निगमलाई उपलब्धिमूलक बनाउन आवश्यक : मन्त्री ढकाल

नेपालखोज २०७७ पुष १४ गते २०:००

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमको स्थलगत निरिक्षण गरी उच्चपदस्थ कर्मचारीहरुसँगको अन्र्तक्रिया कार्यक्रममा निगमलाई यथास्थितिमा होइन समय सापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउन आवश्यक रहेको बताएका छन् ।

मन्त्री ढकालले भने, ‘निगमका सामू समस्याहरु छन् समाधान सहज छैन तर सम्वन्धित सबैले प्रतिवद्धताका साथ योगदान गरेमा असम्भव भन्ने केही छैन् । नीतिगत व्यवस्थापकीय कुन पक्षमा त्रुटी छ त्यसमा सुधार गर्न सक्रियता आवश्यक छ ।’

साथै उनले भने, ‘निगमको विकासमा कुनै प्रदुषण छ भने इमान्दारीपूर्वक शुद्धिकरण गर्दै जानु पर्दछ, लक्ष्य ठूलो राखेर मात्र हुँदैन् । उपलब्धि तर्फ पनि विशेष ध्यान दिनु पर्दछ ।’ उनले निगमको विकासमा कर्मचारी मात्र होइन उच्च सरकारी निकाय समेत जिम्मेवार हुनु पर्ने भन्दै निगमको उन्नतिमा आफ्नो तर्फबाट हरसंभव सहयोग हुने र राजनैतिक हस्तक्षेप नहुने विश्वास दिलाएका छन् ।

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले राष्ट्रिय ध्वजावाहकको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्य बढाउँदै लैजानु पर्ने आवश्यकता औल्याउँदै भएको स्थिर सम्पत्तिलाई आयमूलक क्षेत्रमा परिवर्तन गरी वित्तिय सुदृढता तिर लाग्न आग्रह गरेका छन् । उनले सकारात्मक सोचसहित सरकारले पूँजी बढाउने काममा सहयोग गर्ने विश्वास दिलाउँदै कर्मचारी पाल्न ऋण लिन नपरेकोमा खुसी व्यक्त गरे ।

निगम संचालक समितिका अध्यक्ष सुशील घिमिरेले कोभिड-१९ ले ठूलै पीडा दिएको बेलामा पनि निगमले सक्रियतापूर्वक औषधि ढुवानीदेखि उद्दार उडानबाट समेत उल्लेखनिय योगदान गरेको स्मरण गराए ।

कामको दृष्टिकोणले पर्यटन मन्त्रालय महत्वपूर्ण निकाय भएको र त्यसैको एक अंगको रुपमा नेपाल वायुसेवा निगमको भूमिका र कार्यक्षेत्र व्यापक भएको उल्लेख गर्दै विगतका अनुभवहरुबाट सिकेर नयाँ संभावना पहिल्याउन र गन्तव्य विस्तारमा सक्रियतापूर्वक लाग्न निगम सक्रिय रहेको कुरा व्यक्त गरे ।

निगमको कार्यनीति, कार्यक्रम र गतिविधिबारे विस्तृत जानकारी दिंदै निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले प्रशासन, पारदर्शिता, सूचना प्रविधिको विकास, जनशक्तिको उचित उपयोग र सीप विकास सहित अगाडि बढ्न निगम तदारुकताका साथ लागेको बताए ।

उनले आन्तरिक उडानलाई दुर्गम क्षेत्रमा कायम राख्ने आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय गन्तव्य बढाउने लक्ष्य राखिएको छ भने हिन्दू बहुल भारत र बुद्धिष्ट बुहल चीनबाट यात्रुको प्रवाह बढाउन निगम क्रियाशिल रहेको विचार व्यक्त गरे ।

प्रतिक्रिया