प्रदेश १ मा ३० जना कोरोना संक्रमित थपिए, २५३ जना डिस्चार्ज

मोरङ । प्रदेश १ मा कोरोना भाइरसका ३० जना नयाँ संक्रमित थप भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार गरिएको ४ सय २१ जनाको पीसीआर परिक्षणका क्रममा १२ महिला र १८ पुरुष गरी कुल ३० जनामा संक्रमण पुष्टि भएको हो।
यसक्रममा मोरङमा १५, झापा र सुनसरीमा समान ४ र प्रदेश १ बाहिरका ७ जना रहेका छन्। मोरङको विराटनगर महानगरपालिकामा ५, केराबारी गाउँपालिकामा ४, बुढीगंगा गाउँपालिकामा ३, बेलबारी, उर्लाबारी नगरपालिकासँगै मिक्लाजुङ गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको हो।
त्यसैगरि, झापाको मेचीनगर नगरपालिकामा २, दमक र बिर्तामोड नगरपालिकामा समान १, सुनसरीको इटहरी उपमहानगरपालिकामा ४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै प्रदेशभर हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७ सय २९ पुगेको छ।
यस्तै गएको २४ घण्टामा प्रदेशमा २ सय ५३ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशका विभिन्न होमआइसोलेसनबाट २ सय ४६, विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालबाट समान १ जना निको भएर डिस्चार्ज भएका हुन्। प्रदेशभर हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८ सय ७० पुगेको छ।

प्रतिक्रिया