सोमबार, वैशाख १५, २०८२

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा प्रदेश-१ को रोमाञ्चक जित

नेपालखोज २०७७ पुष १५ गते १३:५९

लमही । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ ले रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा प्रदेश–१ ले सुदूूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको हो ।

दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५४ रनको सामान्य लक्ष्य प्रदेश–१ ले १५ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । निग्मा तामाङले ७ रन जोडिन् ।

बलिङतर्फ सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् । कविता कुँवर र कविता जोशीले समान एकरएक विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो । मौसमका कारण केही समय ढिला सुरु भएको खेल १६ ओेभरमा झारिएको थियो ।
सुदूरपश्चिमका लागि कविता जोसिले सर्वाधिक १४ रन बनाइन् । रेवती धामीले ८ रन बनाएको इनिङ्समा डोली भट्टले ५ रनको योगदान गरिन् । बलिङतर्फ प्रदेश–१ की संगीता राईले सर्वाधिक ३ विकेट लिइन् । सवनम राईले २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले समान एकरएक विकेट लिए ।

आजको खेलमा जित्दै प्रदेश–१ सेमिफाइनलनजिक पुगेको छ । आज नै हुने अर्को खेलमा गण्डकी प्रदेशले वाग्मती प्रदेशसँग खेल्नेछ ।

प्रतिक्रिया