शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिमलाई मन्त्री दिएका होइनन्, केपी ओलीले किनेका हुन् : भीम रावल

नेपालखोज २०७७ पुष १७ गते १९:११

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव खेमाका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू किनेको आरोप लगाएका छन् । पुर्व गृहमन्त्री समेत रहेका रावलले प्रदेशस्तरीय बैठकमा बोल्दै भने ‘सुदूरपश्चिममा चारवटा मन्त्री दिएर प्रचार गरेका छन्, ‘त्यो मन्त्रालय दिएको नभइ किनेका हुन् ।’

यसअघि नेकपा दुईवटा समूह नहुँदा प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमलाई एक मन्त्रालय दिन पनि कति मिहिनेत गर्नु परेको थियो त्यो कुरा ताजै रहेको उनले बताए । ‘यदि केपी शर्मा ओलीले साँच्चिकै सुदूरपश्चिमको विकास चाहेका भए । प्रतिनिधि सभामा डडेल्धुरा, कैलाली निर्वाचन क्षेत्र १ बाहेक सबै र प्रदेश सभामा दुई तिहाइ ल्याउँदा पनि एक मन्त्री दिन कति कञ्जुस्याइँ गरे त्यो सबैलाई थाहै छ ।’ यी सबै कारणले गर्दा केपी ओलीको सुदूरपश्चिम हेर्ने धारणा स्पष्ट भएको उनले दाबी गरे ।

नेता रावलले सांसद नभएका व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा ल्याएर ओलीले हास्यास्पद काम गरेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्न नदिएको भन्ने आरोप बारे स्पष्ट पार्दै भने, ‘हामीले घेराबन्दी पनि गरेका छैनौं । हामीले उहाँको कार्यमा बाधा सिर्जना पनि गरेका छैन । तर, एउटा कुरा निश्चित गरेका छौं, राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने, कम्युनिस्ट पार्टी विरुद्धको कार्यक्रम भने रोक्न खोजिएकै हो । अब त्यो रोक्न खोजेपछि पार्टी नै भंग गरे । हामीले त्यस्तो प्रधानमन्त्रीलाई के भन्नुपर्ला ?’

प्रतिक्रिया