चुनाव घोषणा हुँदा काँग्रेसमा तरङ्ग आउनु स्वाभाविक : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गत चुनावमा हार खाएको काँग्रेसका लागि नयाँ चुनाव तोकिँदा तरङ्ग आउनु नौलो नभएको बताएका छन्। राष्ट्रिय जनता समाजवादी पार्टीले राजधानीमा आयोजित ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तर्क्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै पौडेलले उक्त भनाई राखेका हुन्।
सरकारले भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेशमा आँखा छोपेर सही ठोकिदिएको आरोप लगाए। उक्त घटनापछि काँग्रेसमा तरङ्ग छाएको पौडेलको भनाई थियो।
आफूले पार्टीमा यस्ता विषयमा तत्काल फाइदाका कुरा हेर्न नहुने धारणा राखेको उनले बताए। तत्काल चुनावमा गए आफूलाई पनि फाइदा हुनसक्ने दाबी पौडेलको थियो। प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि छुरा प्रहार गरेको उल्लेख गर्दै पौडेलले यसका विरुद्ध काँग्रेसमा अहिले एकमत रहेको र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने पक्षमा आफू उभिएको उनले बताए। भने, ‘जनतामाथि धोखाधाडी भएको छ। जनतामाथि विश्वासघात भएको छ। नेपालको लोकतन्त्रमाथि छुरा प्रहार भएको छ।’
उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध डटेर लाग्नु पर्ने पनि बताएका छन् । साथै पार्टीभित्र त्यसैलाई लिएर अन्तर्विरोध भएको पनि सुनाए। ‘विरोध गर्नेमा सर्वसम्मत भयो। तर, कसरीरु हाम्रो पार्टीमा अस्पष्ट भयो। मैले भने अलोकतान्त्रिक काम सच्चिनुपर्छ,’ उनले भने, ‘सर्वोच्च अदालत छ। यसमा अलिकति विश्वास छ। कुनै पनि आधारबिना प्रतिनिधि सभा विघटन भएको छ।’

प्रतिक्रिया