कर्णालीका वनमन्त्री बुढाले गरे समूह परिवर्तन

नेपालखोज २०७७ पुष २१ गते १९:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र निर्वाचित संसद् भंग गर्नु त्रुटिपूर्ण रहेको निष्कर्ष निकाल्दै कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समूह परिवर्तन गरेका छन् । उनी लामो समयदेखि प्रधानमन्त्री ओलीनिकट थिए ।

नेकपा विभाजित भएसँगै उनी नेकपाको बहुमत पक्षतिर लागेका हुन् । उनले कर्णालीको स्थायी सरकारका लागि समूह परिवर्तन गरेको बताए । “मूलतः कर्णालीको सरकार अस्थिर नहोस् भनेर मैले समूह परिवर्तन गरेको हुँ,” उनले भने, “अब कर्णाली प्रदेशको सरकार दिगो हुन्छ ।”

नेकपा विभाजित भएसँगै प्रदेश तहमा ओहोरदोहोर गर्ने क्रमले तीव्रता पाएको छ । कर्णाली प्रदेशमा हालसम्म ओली समूहका तीनजनाले समूह परिवर्तन गरेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । त्यसमध्ये विगतमा पूर्वमाओवादी केन्द्रमा रहेका ठम्मरबहादुर विष्ट र धर्मराज रेग्मी ओली कित्तामा लागेका छन् ।

४० सदस्यीय प्रदेशसभामा ओलीको पक्षमा ११ जना खुलेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा २२ जना छन् ।

प्रतिक्रिया