प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थामाथि ‘कू’ गरे : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा माथिबाट समग्र व्यवस्थालाई नै ‘कू’ गरेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले काठमाडौंमा आयोजना गरेको अन्तरपार्टी अन्तरक्रियामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संवैधानिक कू नभइ संविधान र व्यवस्थामाथि कू गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले गरेको कू २०१७ सालमा राजा महेन्द्र र २०६००र६१ मा राजा ज्ञानेन्द्रले गरेको कू जस्तै भएको बताए ।
उनले भने, ‘केपी ओलीको नेतृत्वमा नेपालमा पुस ५ गते जुन प्रतिगमनकारी घटना घट्यो, यो समान्य होइन । मेरो विचारमा १७ सालमा राजमा महेन्द्रले जुन कू गरे र ६०र६१ सालमा राजा ज्ञानेन्द्रले जुन कू गरे त्यसैको हाराहारीको यो कू हो । संवैधानिक कू होइन, त्यो त संविधानअन्तर्गत हुन्छ । संविधानमाथिको कू हो, व्यवस्थामाथिको कू हो । त्यसो हुनाले यसलाई समान्य अर्थमा लिने गल्ती कसैले पनि नगरौँ ।’
प्रधानमन्त्रीले संसद् विघटन गर्ने कदम संवैधानिक हो वा होइन भन्ने विषयमा बहस गर्न र भ्रममा पर्न नहुने पनि भट्टराईले बताए । उनले भने, ‘नियोजित ढङ्गले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रहार गरेर यसलाई उल्ट्याएर फेरि विभिन्न शक्तिहरू भित्री र बाहिरी शक्तिहरू छन्, जसले नेपालको परिवर्तन रुचाएका छैनन्, जसले यहाँको अस्थिरतामा खेल्न चाहिराखेका छन्, त्यसको मतियार बनेर केपी शर्मा ओलीले यो कदम चाल्नुभएको हो ।’
कुनै पनि व्यक्तिले लहडमा प्रतिनिधि सभा विघटन गर्नै नसक्नेसमेत नेता भट्टराईले बताए। अन्तर्राष्ट्रिय परम्परामा संसद् विघटन गर्ने अभ्यास छ भन्दै नेपालको संसद् विघटन गर्न नपाइनेसमेत उनले बताए । प्रधानमन्त्रीले कुनै पनि बेला संसद् विघटन गर्न सक्ने कुरालाई विचार गरेर संविधानमा नै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्थालाई हटाइएको बताए। अहिलेको अवस्थामा कुनै पनि तरिकाबाट संसद् विघटन हुनै नसक्ने उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले दुई तिहाइ बहुमतको सरकार चलाउन नसक्ने मान्छेले चुनाव गराउँछ भन्ने भ्रममा नपर्न पनि आग्रह गरे। अहिलेको अस्थिरतालाई कायम राख्दै निर्वाचन पनि नहुने, संविधान पनि भङ्ग हुने भयो भने देशमा राष्ट्रिय स्वाधिनतामाथि खतरा आउन सक्ने उनले बताए ।
प्रतिनिधि सभा पुनर्स्थापना हुने विषयमा अदालतको आशा गर्नुपर्ने तर भर पर्न नहुने पनि भट्टराईले बताए । पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओली इमानदार तानाशाह भएको टिप्पणीसमेत गरेका छन्।
उनले ओलीले झापा आन्दोलनमा राम्रो काम गरे पनि पछि जेलबाट निस्किएर आएपछि अग्रगमनको विरोधी बनेर आएको बताएका छन् । आफ्नो प्रवृत्ति नलुकाइकन व्यवस्थामाथि आक्रमण गरिरहेकाले प्रधानमन्त्री ओली इमानदार तानाशाह भएको आरोपसमेत भट्टराईले लगाए । नेकपाका नेताहरूले अहिलेसम्म ओलीलाई कसरी बोकेर ल्याउनुभयो अफूलाई अचम्म लागेको पनि बताएका छन् ।

प्रतिक्रिया