प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो : रायमाझी

नेपालखोज २०७७ पुष २३ गते १४:३६

काठमाडौं । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक सन्तुलनका विषयमा प्रश्न उठाएका छन् । राष्ट्रियसभा बैठकमा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका उनले असंवैधानिक काम गर्ने व्यक्तिलाई प्रधानमन्त्री भन्ने कि नभन्ने भन्दै यस्तो प्रश्न गरेका छन् ।

“एउटा प्रधानमन्त्री हुनका लागि योग्यता चाहिन्छ । पहिलो प्रतिनिधिसभाको सदस्य हुनुपर्छ । दोस्रो बहुमत सदस्यको समर्थन हुनुपर्छ । तेस्रो मानसिक सन्तुलन ठीक भएको हुनुपर्छ,” उनले भने, “प्रतिनिधिसभाको उहाँ सदस्य हुनुहुन्न अहिले । उहाँलाई प्रधानमन्त्री भन्ने कि नभन्ने ? बहुमतको सदस्यको समर्थन उहाँलाई देखिँदैन । असंवैधानिक काम गर्ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ कि हुँदैन ? मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैन ? ” उनले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको पनि बताए । राष्ट्रपति नेकपाको कार्यकर्ता हो ? भन्ने प्रश्न गर्दै उनले नेकपाले राष्ट्रपति संस्थाको बद्‌नाम गरेको पनि टिप्पणी गरे ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उनले वैकल्पिक सरकार बन्न सकेन भने मात्र मध्यावधिमा जानसक्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै संविधान पढ्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले चुनाव हारेका मान्छेलाई मन्त्री बनाएर र मन्त्रिपरिषद् विस्तार गरेर संविधानको खिल्ली उडाउको आरोप पनि लगाए । “संविधान प्रधानमन्त्रीले मान्नुनपर्ने । प्रधानमन्त्री हिटलर हो ? जे मन लाग्यो त्यही गर्ने ? म ओलीलाई मात्र भन्दिनँ सारा कम्युनिस्ट पार्टी दोषी छ यो मुलुकमा । मुलुकलाई यो दिशामा पुर्‍याउन,” उनले भने ।

प्रतिक्रिया