सोमबार, वैशाख ८, २०८२

निर्वाचनमा जुट्न गृहमन्त्री थापाको निर्देशन

नेपालखोज २०७७ पुष २६ गते २०:५५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिए । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनमा जुट्न निर्देशन दिएका हुन् ।

“तपाईंहरुको क्षमतालाई विश्वास गर्दै सरकारले बढुवा गरेको छ, त्यो विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्”, उनले भने। प्रहरीको काँधमा एकातर्फ निर्वाचनको लागि आवश्यक तयारी गर्ने र अर्कोतर्फ सम्भावित आन्दोलनको नियन्त्रण गर्ने दायित्व आएको उनको भनाइ थियो । “लोकतन्त्रमा विरोध प्रदर्शन गर्न पाइन्छ तर शान्ति सुरक्षा र सुव्यवस्थामा असर पार्ने गरी प्रदर्शन गर्न पाइँदैन”, उनले भने।

गृहमन्त्री थापाले पछिल्लो समय सुरक्षा चुनौती बढेको बताउँदै त्यसलाई सामना गर्ने गरी सुरक्षा योजना बनाउन निर्देशन दिए । सो अवसरमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया