‘निर्वाचनको नाममा एउटा तुरुप मात्रै फाल्या हो’

नेपालखोज २०७७ पुष २८ गते १५:०६

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको नाममा एउटा तरुप फ्यालेको बताएका छन्।

मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जसपा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले निर्वाचनको घोषणा गरिसकेकाले यो सरकार काम चलाउ सरकार भएको बताएका छन् ।

‘निर्वाचनको घोषणा गरिसकेपछि सरकार काम चलाउ हुन्छ, तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ ठान्नु भएको छैन, सरकार विस्तार गर्नुभएको छ,’ पत्रकार सम्मेलनमा उनले भने–‘निर्वाचनको नाममा एउटा तुरुप मात्रै फाल्या हो, निर्वाचनतिर सबैको ध्यान जान्छ, आफूले चालेको असंवैधानिक कार्य, गैरलोकतान्त्रिक कार्य अघि बढाउन सकिन्छ भनेर मात्रै हो । उहाँको नेतृत्वमा हुने चुनावको विश्वसनीयता र निष्पक्षता पनि सम्भव छैन ।’

उनले अगाडी थप्दै भने–‘यही बेलामा पुराना शक्तिहरु, निरंकुशकालीन शक्तिहरु मौकामा चौका हान्न पाइन्छ कि भनेर उफ्री रहेका छन् । नेपाली जनता २०१७ सालको अवस्थामा हैन, २०७७ सालमा छन् । चेतना र लोकतान्त्रिक भावनाबाट ओतप्रोत छन् । निश्चितरुपमा कमी कमजोरी अरुमा पनि हुन सक्छ । त्यसको मतलब लोकतन्त्रलाई समाप्त पारेर निरंकुश तन्त्र ल्याउने हैन ।’

प्रधानमन्त्रीको सिफारिसमा भएको असंवैधानिक कदमलाई सच्याउनु नै तत्कालिन समस्याको समाधान भएको उनको भनाइ छ ।

प्रतिक्रिया