शुक्रबार, वैशाख १४, २०८१

झारफुक गर्दा झाँक्रीले हानेको पन्युको चोटले बिरामीको मृत्यु

नेपालखोज २०७७ पुष २९ गते २०:०८

गुल्मी । झारफुकको क्रममा झाँक्रीले हानेको पन्युको चोटले एकजनाको मृत्यु भएको । रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पन्युले हान्दा जिल्लाको इस्मा गाउँपालिका – ३ दर्लामचौरका ६३ बर्षिया राम बहादुर मुखियाको ज्यान गएको प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

ढाड दुखेको निको पार्न भन्दै राम बहादुर झारफुक गर्न दुई छोराहरुको साथमा तम्घास स्थित धामिकै घरमा आएका थिए । चारदिनसम्म पनि रामबहादुरलाई खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेको मृतकका छोरा हुम बहादुरले बताए ।

बुधबारबाट मुखिया अचेत भएपछि धामि स्वयम् श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरी निरिक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समुहले धामिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो । मृतक रामबहादुरको शरीरका सबैजसो भागमा निलडाम रहेको छ ।

आफुलाई धामि दावी गर्ने श्रेष्ठले रेसुङ्गा नगरपालिका ५ भुवनपानीकी ४० बर्षिय टोपला दमाईलाई पनि गएको २४ पुसमा आफ्नै घरमा बोलाई तातो पन्युले हानेर घाइते बनाएका छन् ।

अहिले घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने शवको पोष्ट मार्टमको लागि अस्पतालमा राखिएको छ । घटनामा संलग्न ३८ बर्षिया रामप्रसाद र उनकी श्रीमती ३६ बर्षिय शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।

प्रतिक्रिया