काठमाडौं महानगरले मनायो २३औं भूकम्प सुरक्षा दिवस

नेपालखोज २०७७ माघ २ गते १४:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाले २३औं भूकम्प सुरक्षा दिवस मनाएको छ । काठमाडौंको न्युरोडस्थित भूगोलपार्कमा १९९० र २०७२ सालमा ज्यान गुमाएकाहरुलाई सम्झँदै भूकम्पबाट कसरी बच्न सकिन्छ भन्ने तयारीसहित दिवस मनाइएको महानगरले जनाएको छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले दैवी प्रकोपसँग लड्न पुर्वतयारीका योजना बनाइरहेको जानकारी दिए । ‘यसभन्दा अगाडि भएको विपत्तिलाई छाडिदिऊ । अब आउने विपत्तिसँग लड्न तत्पर रहनुपर्छ,’ ‘उनले भने, ‘०७२ को भूकम्पमा गुमाएका सम्पदा अझै पनि उठाउन सकिएको छैन । यस्तो खालको विपत्ति कतिबेला आउने हो थाहा हुँदैन । त्यसैले सधैं चनाखो रहनुपर्छ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यसअघि गएका भूकम्पबाट पाठ सिकेको जानकारी दिए । ‘दुनियाँमा विभिन्न किसिमका महामारीको सामना गर्नुपर्छ,’ उनले भने । भूकम्प मात्रै विपत्ति नभइ आगलागी, अहिलेको कोरोना महामारीलाई पनि विपत्तिकै रुपमा मान्नुपर्ने मेयर शाक्यले बताए ।

क्रार्यक्रममा आगलागी नियन्त्रण गर्न राखिएका दमकलको पनि अवलोकन गरिएको थियो । कार्यक्रममा आपत्‌कालीन विपत्तिमा फ्रन्ट लाइनमा खटिएर जोखिम न्यूनीकरण गर्ने तीन प्रहरीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नगर प्रहरी विपिन घिमिरे, मोहनकुमार चौधरी र वीरेन्द्र पहरी छन् ।

प्रतिक्रिया