मंगलबार, वैशाख ४, २०८१

अन्ततः आफ्नै निर्णयबाट पछि हटे पेट्रोलपम्प व्यवसायी

नेपालखोज २०७७ माघ ३ गते ८:३९

काठमाडौं । कमिसन बढाउन दबाब दिने उद्देश्यले १ माघबाट डिजेल, पेट्रोलमा प्रतिलिटर ५० पैसा बढी लिने निर्णयबाट पेट्रोलपम्प व्यवसायी पछि हटेका छन् ।

बढी मूल्य लिएर इन्धन बिक्री गर्दा निगमले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली, ०७५ र अन्य सरकारी नियमनकारी निकायले उपभोक्ता संरक्षण ऐन, ०७५ लगायतका कानुनअनुसार कारबाही गर्ने तयारी गरेको थाहा पाएपछि व्यवसायीहरू पछाडि हटेका हुन् ।

पेट्रोलियम व्यवसायीको छाता संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि देशभरका पम्प व्यवसायीलाई पत्राचार गर्दै १ माघबाट प्रतिलिटर ५० पैसा बढी लिएर पेट्रोल, डिजेल बिक्री गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले ७ माघमा केन्द्रीय कार्यसमितिको बैठक बसेर निर्णय लिनुअघि कुनै कदम नचाल्नु नै उपयुक्त हुने देखिएको बताए । कमिसन वृद्धिका लागि गृहकार्य गरिरहेको बताए पनि आयल निगमले भने सामान्य जवाफ दिएर आश्वासन मात्रै दिइरहेको प्रधानले बताएका छन् ।

प्रतिक्रिया