बिहीबार, चैत १५, २०८०

स्रोत नखुलेका हातहतियारका रहस्य

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ ३ गते १३:४९

काठमाडौं । नेपालमा अवैध रुपमा हातहतियार ओसारपसार मौलाएको र यसको व्यवस्थापन सम्बन्धमा सरकारले ध्यान दिन सकेको छैन । अवैध हातहतियारको दुरुपयोग बढ्दै गएकोले समाजमा हिंसा फैलिन हो कि भन्ने चिन्ता बढ्न थालेको छ । नेपालमा पछिल्लो एक महिनामा विकसित हतियारसम्बन्धि घटनामा वृद्धि भएको छ ।

घटना एक
माघ २ गते डोल्पा त्रिपुरासुन्दरी नगरपालिका स्थित मुँ गाउँबाट कस्तुरीको दाँत, चौंरीको सिङ एवं विभिन्न किसिमका हतियारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्रिपुरा सुन्दरीकै चन्द्रप्रसाद बुढा, मानबहादुर बुढा, गोकर्ण बुढा,सूर्यबहादुर बुढा र चन्द्ररुप केसी पक्राउ परका थिए । प्रहरी चौकी त्रिपुराकोट र शेफोक्सोण्डो राष्ट्रिय निकुञ्जबाट खटिएको संयुक्त टोलीले चन्द्रप्रसाद बुढाको घरमा तलासी गर्दा हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो ।

घटना दुई
पुस २७ गते नेपाली सेनाले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको थियो । सेनाले बुधबार विज्ञप्ति जारी गर्दै शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको थियो । निकुञ्ज कर्मचारीसहितको पेट्रोलिङ् गरिरहेको सेनाको टोलीले पुस २७ गते सोही नगरपालिका–६ का लक्ष्मीचन्द्र शाहीलाई पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख थियो । सेनाले उनको साथबाट विभिन्न हतिायार र ती हतियारमा लाग्ने गोली बरामद गरेको थियो ।

घटना तीन
पुस २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउन्ड गोलीसहित एकजना पक्राउ परेका थिए । प्रहरीले काठमाडौंबाट झापाको भद्रपुर जाँदै गरेका बद्रीहाङ राईलाई नाइन एमएम पेस्तोलमा लाग्ने ५० थान गोलीसहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका राई अवकाश प्राप्त प्रहरीका छोरा थिए र उनका बुबाले केही दिनअघि मात्र नेपाल प्रहरीबाट अवकाश पाएको समाचारहरुमा छाएको थियो ।

घटना चार
पुस १९ गते कोटेश्वरमा बिहानै पेस्तोल देखाएर लुकपाटको प्रयास भएको थियो । बिहान साढे ६ बजेको समयमा कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको भनी घटनामा संकलग्न भएको आशंकामा केही युवालाई प्रहरीले पक्राउ गरेको थियो । मोबाइल लुट्ने क्रममा युवाहरुले पेस्तोल देखाएको कारण प्रहरीले तिनीहरुलाई पक्रेको थियो ।

घटना पाँच
पुस १ गते उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा जिल्लाकै चौदण्डीगढी नगरपालिकाका एम्बी पुलामी मगर, यम्बरबहादुर मगर र दीपक क्षेत्री थिए । उनीहरुले धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएका थिए ।

घटना छ
गत मंसिर २३ गते सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको थियो । मिक्लाजुङ गाउँपालिकाका बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको थियो । उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले घाँटी रेटेर हत्या गरेको प्रहरीले बताएको थियो ।

विश्लेषण
पछिल्लो एक महिनामा विकसित यी घटनाक्रमहरु प्रतिनिधि घटनाका रुपमा मात्र आाएका हुन् । नेपालमा हातहतियार के प्रयोजनका लाागि कसरी भित्रिरहेका छन् र त्यसको असर के हुने भन्नेबारे हामी कति सचेत छौं ? मुलुक माओवादी द्वन्द्वमा छैन, कुनै विद्रोहमा वा गृहयुद्धमा पनि छैन, तर पनि विभिन्न समयमा गैरकानुनी मानिएको हतियार प्रयोग जनसामान्यको हातसम्म कसरी पुग्छ त्यसको स्रोत के हो ? यसको सटिक उत्तर प्रहरीसँग पनि छैन । छोटामोटा घटना बाहिर आए तापनि मुहानको घटना बाहिर आउँदैन । यी हतियारहरु भित्रिने मुहान कहाँ छ ?

यस्ता घटना बाहिर आउनुमा प्रहरीको सक्रियता र जनतामा चेतनाको अभिवृद्धि हो भन्छ । कुनै पनि मुलुकमा क्राइम अनुपात बढ्नुलाई चेतनाको वृद्धि मान्ने हो भने गरिबी र अशिक्षाको चपेटामा रहेका मुलुकहरु पनि आज गृहयुद्धमा छन् । त्यहाँ क्राइमको अनुपात बढ्नुलाई चेतनासँग तुलना गर्न मिल्ला त ?क्राइम नै नगण्य रहने समाज चेतनशील हुन्छ कि हुँदैन ? हाम्रै मुलुकमा पनि माओवादी द्वन्द्वमा मानिस वेपत्ता हुनु, बलात्कार र हत्याको अनुपात बढी थियो त्यसलाई चेतनाको वृद्धि मानौं कि अपराध मात्र ?

नेपालमा कुनै आधिकारिक हतियार कारखाना छैन । यस्तोमा चीन वा भारत दुई देशबाट मात्र हतियार भित्रिने हो । सीमा वा विमानस्थलको बाटो भएर आउने ठाउँमा प्रहरी नै पहरेदार छ । जसले देशको अमन चयनको कसम खाएको छ । प्रहरीको मिलिभगत विना यसरी हातहतियार भित्रिन सम्भव छ कि छैन ? अर्को गम्भीर प्रश्न यो हो । आकाश मार्गले त्यसै देशको सीमाभित्र हतियारहरु छिर्छन् भनेर विश्वास गर्ने पो हो कि ?

भारतीय मिडियाले नेपालमा आतंकवादी गतिविधि बढेको आरोप लगाउँदै आएका छन् । त्यो गोदी मिडियाको मनोविक्षिप्त टिप्पणी भए पनि यसलाई हामीले हलुका रुपमा कदापि लिनुहुन्न । जति पनि हतियार नेपाल प्रहरीले पक्रिएको छ त्यति मात्र हतियार नेपाल प्रवेश गरेका पनि पक्कै होइनन्, ती भित्रिने मार्गमा सहयोगी हातहरु नभए निर्जीव हतियार हिँडेर प्रवेश गरे भन्न मिल्ने थियो ।

मानस्थलमा हतियारसहित परेका बद्रीहाङ राई कसको संरक्षणमा विमानस्थलभित्र हतियार लिएर प्रवेश गरे ? पचास थान गोली झापा लैजान कसैले भरोसा नदिलाई उनले विमानस्थलकोे बाटो प्रयोग गर्ने मनस्थिति पक्कै बनाएन् ।

भारतीय अन्डरवल्र्ड डन दाउदको नेपालमा धेरै सम्पत्ति रहेको भनी पत्रपत्रिकाहरुमा आइसकेका छन् । कतिपय अवस्थामा दाउदका ग्याङ मेम्बरले नेपाली पासपोर्ट र नेपालको बाटो गरेर दुबई यात्रा गरेका घटनाहरु बाहिरिई सकेका छन् । यसो हुनुमा नेपालका प्रशासन, प्रहरी दुबैको मिलेमतोलाई दर्शाउँछ । यी घटना बाहिर आउनु चेतनाको विकास नभएर प्रशासन र प्रहरीमा कतिपय मानिसहरु यसमा प्रत्यक्ष जोडिनाले हो ।

प्रतिक्रिया